Kathmandu Press

निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन

काठमाडौं, जेठ १२ : काठमाडौँ महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा आज (बुधबार) देखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ।दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै...
निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन

काठमाडौं, जेठ १२ : काठमाडौँ महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा आज (बुधबार) देखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ।

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो। यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र मासिक सञ्चालन खर्चबापत करीब रु ४८ लाख १६ हजार ६०० रकम सहयोग गरेको छ।  

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र नगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा आज अस्पताल सञ्चालनको शुभारम्भ गरेका हुन्। अस्पतालका निर्देशक डा. प्रेमकुमार जोशीका अनुसार अब अस्पतालमा सात आइसियु, चार भेन्टिलेटर, छ एचडियुसहित ३५ शैयाको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।   

महानगरसँग भगिनी सम्बन्ध स्थापना भएको चीनको ल्हासा शहरबाट उपलब्ध भएको भेन्टिलेटरमध्ये दुई छत्रपाटी चिकित्सालयलाई यसअघि नै दिइएको छ। यसैगरी अस्पतालले खरीद गर्ने थप तीन भेन्टिलेटरको रकम पनि महानगरले नै  भुक्तानी  गर्ने सहमति भएको छ।

अस्पतालको पूर्वाधार सुधारका लागि करिब रु ३० लाख खर्च गरेर लिफ्ट जडान गरिसकेको र नयाँ भवन निर्माण गर्न करीब रु पाँच करोड विनियोजन गरेको नगर प्रमुख शाक्यले जानकारी दिए। 

शुभारम्भपछि राज्यमन्त्री मानन्धरले महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको बताउनुभयो। महानगरले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंसा गर्दै उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम व्यक्ति वा समूहको भन्दा माथि हुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिए।   

    

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्