एसईई सञ्चालनको विकल्पबारे सुझाव तयार गर्दै कार्यदल
काठमाडौं, जेठ १२ : कोभिड-१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव...
काठमाडौं, जेठ १२ : कोभिड-१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए।
‘गल्लीगल्ली डटइन्फो’द्वारा आज (बुधबार) भर्चुअल रूपमा आयोजित छलफलमा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सफल नहुने भएकाले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
उनले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिक सत्र सञ्चालन गर्न सक्ने स्पष्ट गरे। कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ।
बालबालिका विज्ञ डा. मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताइन्।
अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहज रुपमा सूचना प्रविधिका साधनमा जोड्न तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरे।











