कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न नेपाललाई कोभ्यासको आग्रह
काठमाडौं, जेठ १२ : कोरोनाविरुद्धको खोप वितरणको एक विश्वव्यापी अभियान (कोभ्याक्स) ले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ ।केही समयअघि...
काठमाडौं, जेठ १२ : कोरोनाविरुद्धको खोप वितरणको एक विश्वव्यापी अभियान (कोभ्याक्स) ले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ ।
केही समयअघि मात्र भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले एक वर्षजति कोभिसिल्ड खोप देशबाहिर दिन नसक्ने भनेको थियो। त्यसपछि कोभ्याक्सले कोभिसिल्डको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाले बताएको छ।
सन् २०२१ मेसम्म नेपालमा १९ लाख २० हजार डोज खोप पठाउने प्रतिबद्धता कोभ्याक्सले व्यक्त गरेको थियो। सोहीबमोजिम कोभ्याक्सले गएको फागुन २३ गते पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो। तर सेरमले कोभ्याक्सलाई पनि कोभिसिल्ड उपलब्ध गराउन नसक्ने जनाएपछि नेपाललाई अर्को खोप रोज्न आग्रह गरिएको हो।
खोप महाशाखाले कोभ्याक्सलाई जुन १ सम्म जवाफ पठाउने बताइएको छ। त्यसअघि खोप समिति र स्वास्थ्य मन्त्रालयमा छलफल गरेरभण्डारका लागि ‘कोभ्याक्सिन, जोनसन एन्ड जोनसन, स्पुतनिक भी, भेरोसेललगायत खोप उपयुक्त हुने भएकाले यीमध्ये एउटालाई छान्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाई खोप दिन अमेरिकी र रसियन कम्पनी पनि सकारात्मक रहेको जनाइएको छ। स्वास्थ्य सेवा विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएका अमेरिकाको मोडेर्ना, जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीसँग खोप खरिदका लागि प्रस्ताव गरेको थियो। अमेरिकाको जोन्सन एण्ड जसमा जोन्सन र रसियाको स्पुतनिक भीले सकारात्मक जवाफ पठाएको जनाइएको छ।











