‘मातृभाषा पत्रकारिताको विकासमा प्रजातन्त्र आएर मात्र पुग्दैन’
काठमाडौं, जेठ १२ : मातृभाषा पत्रकारिता क्षेत्रका विकासका लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरूले बताएका छन्।छैटौं मातृभाषा पत्रकारिता दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय...
काठमाडौं, जेठ १२ : मातृभाषा पत्रकारिता क्षेत्रका विकासका लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरूले बताएका छन्।
छैटौं मातृभाषा पत्रकारिता दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज (बुधबार) आयोजना गरेको भर्चुअल कार्यक्रमका वक्ताहरूले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि राज्यले विशेष प्याकेज नै ल्याउनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले देशमा धेरैपल्ट राजनीतिक परिवर्तन आए पनि मातृभाषा पत्रकारिता क्षेत्रमा कुनै परिवर्तन महसुस गर्न नसकिएको बताए।
‘मातृभाषा पत्रकारिता क्षेत्रको लक्षित समूह नै सानो हुन्छ, यसको बजार सानो हुन्छ, त्यसैले यो क्षेत्रमा व्यावसायिक पत्रकारिता निकै चुनौतीपूर्ण छ,’ उनले भने, ‘मातृभाषा पत्रकारिताको विकासका लागि राज्यबाट नै विशेष सुविधाको प्याकेज ल्याइनुपर्छ।’
पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दुई वर्षअघि मातृभाषा पत्रकारिता सम्मेलनबाट पत्रकारितासम्बद्ध सरकारी निकायहरूमा समानुपातिक, समावेशी प्रतिनिधित्व, सञ्चारगृहमा विषयवस्तुका साथमा व्यक्तिको समावेशी उपस्थिति, मातृभाषी पत्रकारको क्षमता विकासलगायत विषय समावेश गर्दै घोषणापत्र जारी गरेको स्मरण गरे।
घोषणापत्रबाट उठाइएका मागहरु पूरा गराउन पत्रकार दबूलगायत मातृभाषा पत्रकारितासम्बद्ध सम्पूर्ण संघसंस्था एकजुट भई राज्यलाई दबाब दिनुपर्ने बज्राचार्यको भनाइ हो। ‘मातृभाषा पत्रकारिताको विकासका लागि हामीले सुझावहरू राज्यसमक्ष राखेका छौं,’ बज्राचार्यले भने, ‘यी मागहरुको कार्यान्वयन सम्बन्धमा राज्य कहाँ छ भन्ने प्रश्न राख्नुपर्ने अवस्था छ। यो प्रश्न बारम्बार दोहो¥याइ रहन नपरोस्, यहि आशा गरौं।’
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायण किलम्बुले मातृभाषा पत्रकारिता दिवस सरकारबाटै मनाइनुपर्ने माग राखे।
मातृभाषा नै देशको पहिचान बनेको अवस्थामा मातृभाषा पत्रकारिताको विकास पनि राज्यकै दायित्व भएको उनकोे भनाइ थियो। यसका लागि राज्यलाई दबाब दिन आफूले महासंघबाट सक्दो पहल गर्ने प्रतिबद्धता किलम्बुले व्यक्त गरे।
त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले मातृभाषा पत्रकारिताले सय वर्ष पूरा गर्न लाग्दा पनि मातृभाषाबाट सञ्चालन भइरहेका सञ्चारमाध्यमले मौलिक विषयवस्तु पस्किन नसकेको बताए।
‘हामीले अरूको सामग्री अनुवाद मात्रै गर्यौं, हामीले नै आफ्नो समुदायको सूचना, मुद्दालाई समाचारको विषय बनाउन सकेनौं भने अरूबाट आश गर्न सकिन्छ र ?’ उनले भने।
मातृभाषा पत्रकारिता भनेको समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षणसँग पनि जोडिएकोले यो निकै चुनौतीपूर्ण र गम्भीर विषय भएको गुरुङको भनाइ थियो।
त्यसैगरी मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले मातृभाषा पत्रकारितालाई अलग धार र खस नेपाली भाषाको पत्रकारितालाई मूलधार भन्दै विभेद भइरहेको गुनासो गरे।
सम्वन्धित समुदायका लागि मातृभाषा पत्रकारिता नै मूलधार भएको दाबी गर्दै उनले मूलधार वा अलगधार खालको विभेदपूर्ण विचारलाई चिर्नुपर्नेमा जोड दिए।
पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २०७५ सालमा प्रथम मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको स्मरण गर्दै यस वर्ष दोस्रो सम्मेलनको आयोजना गर्ने योजना रहे पनि महामारीको अवस्थामा गर्न नसकिएको जानकारी दिए। समयानुकुल सम्मेलनको आयोजना गरिने पनि श्रेष्ठले बताए।
९६ वर्षअघि नेपाल संवत् १०४५ (वि.सं. १९८२) मा ललितपुर चिकंबहिका धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले कोलकाताबाट ‘बुद्ध धर्म’ नामक नेपाल भाषाको पत्रिका प्रकाशन गरेका थिए।
यही पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाका रूपमा लिइन्छ। इतिहासकै पहिलो मातृभाषी पत्रिका ‘बुद्ध धम्र्म’ दोस्रो वर्षमा ‘बुद्ध धम्र्म व नेपालभाषा’ नामले प्रकाशित भएको थियो।
राणाकालीन कठोर समयमा पाँच वर्षसम्म यो पत्रिका प्रकाशन भएको थियो। यही पत्रिका प्रकाशनलाई आत्मसात् गर्दै धर्मादित्य धर्माचार्यको जन्मदिन वैशाख शुक्ल चतुर्दशीको दिनमा पत्रकार दबूले प्रथम मातृभाषा पत्रकार धर्माचार्यको जन्मजयन्ती तथा मातृभाषा पत्रकारिता दिवसको मनाउने गरेको छ।
यसैक्रममा मंगलबार छैटौं मातृभाषा पत्रकारिता दिवस मनाइएको हो। दिवसका अवसरमा दबूले पुल्चोकस्थित धर्मादित्यको सालिकमा माल्यार्पण, र्याली, जन्म जयन्ती समारोह तथा मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्दै आएकोमा यस वर्ष भने कोरोना महामारीका कारण उक्त कार्यक्रमहरू स्थगित भएको छ।
धर्मादित्य धर्माचार्यको जन्म ने.सं. १०२२ बछलाथ्व १४ (वैशाख शुक्ल चतुर्दशी) मा सप्तपुर महाविहार, चिकंबही, ललितपुरमा भएको थियो भने ने.सं. १०८३ मा उनको निधन भएको हो।











