विश्वशान्ति र मानवकल्याणका लागि बुद्धका सन्देश अनुकरणीय : प्रदेश प्रमुख पौडेल
पोखरा, जेठ १२ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताएकी छन्।२५६५औंँ बुद्धजयन्तीका अवसरमा आज...
पोखरा, जेठ १२ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताएकी छन्।
२५६५औंँ बुद्धजयन्तीका अवसरमा आज (बुधबार) शुभकामना सन्देश दिँदै उनले सम्पूर्णको सुख, शान्ति र समृद्धिको कामना गर्दै शाक्यमुनि बुद्धले अंगीकार गरेको शान्ति, अहिंसा र मानवकल्याणको मार्ग अनुशरण गर्न सके मानिस दुःखी हुनुनपर्ने विचार व्यक्त गरेकी छन्।
शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिएका राष्ट्रिय विभूति गौतमबुद्ध नेपालका मात्रै नभई महामानवका रुपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उनले देखाएको शान्ति, अहिंसा र मानव कल्याणका मार्गमा लाग्न तथा सकारात्मक सोचको विकास गर्न आग्रह गरिएको छ।
आज कोरोना भाइरसको विश्व महामारीसँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा बुद्धको दुःखसम्बन्धी चतुर्आर्य सिद्धान्तले दिने सन्देशमा जनाइएको छ ।
प्रदेश प्रमुखले आजकै दिन परेको किराँत राई, याक्खा, सुनवार र लिम्बू समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।
कोभिड-१९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर धर्म, संस्कार संस्कृति र चाडपर्व मनाउन पनि प्रदेश प्रमुख पौडेलले आग्रह गरेकी छन्।











