Kathmandu Press

रुकुम (पूर्व) मा यार्सा सङ्कलनमा रोक

रुकुम, जेठ ११ : जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ।कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा...
रुकुम (पूर्व) मा यार्सा सङ्कलनमा रोक

रुकुम, जेठ ११ : जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ।

कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो। 

रुकुम (पूर्व) सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए।

कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाइएको थियो। कोरोनाबाट बच्न भन्दै यार्सा सङ्कलनमा रोक लगाइरहँदा यसबाट जीविकोपार्जन गर्दै आएकाको भने रोजीरोेटी खोसिएको छ।

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइँने गर्दछ। प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट सुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ। 

डिभिजन वन कार्यालय रुकुम (पूर्व) ले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा सङ्कलनको पुर्जी दिइसकेको छ। दुई साताअगाडि नै सात किलोको सङ्कलन पुर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिए।

त्यो भन्दा पछाडि कसैलाई पनि यार्सा सङ्कलन पुर्जी नदिएको मैनालीले बताए। गत वर्ष र यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउँदा विशेष गरी पुथा उत्तरगङ्गा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन्।

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्