Kathmandu Press

प्रतिपक्षी नेताको प्रस्तुति रिसाएको बिरालोले खाँबो चिथरेजस्तो : योगेश

काठमाडौं, असार ५ : नेकपा नेता योगेश भट्टराईले प्रतिपक्षी नेपाली कांग्रेसलाई संसदीय मर्यादा ख्याल गर्न आग्रह गरेका छन्।

उनले कांग्रेस सभापति ....

प्रतिपक्षी नेताको प्रस्तुति रिसाएको बिरालोले खाँबो चिथरेजस्तो : योगेश

काठमाडौं, असार ५ : नेकपा नेता योगेश भट्टराईले प्रतिपक्षी नेपाली कांग्रेसलाई संसदीय मर्यादा ख्याल गर्न आग्रह गरेका छन्।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो संसद्मा दिएको अभिव्यक्तिलाई ‘रिसाएको बिरालोले खाँबो चिथरेजस्तो’ भन्दै टिप्पणी गरे।

प्रतिनिधिसभाको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै भट्टराईले भने, ‘मलाई लागेको थियो– कांग्रेसजस्तो जिम्मेवार पार्टीले संसद्मा जे भयो, गल्ती भयो भनेर आत्मालोचना गर्ला । भोलिपल्ट त रिसाएको बिरालोले खाँबो चिथरेजस्तो गरेर पो प्रस्तुत हुन थाल्नुभो । इतिहास बोकेको पार्टीले यस्ता गतिविधिप्रति पुनर्विचार गरोस्।’

भट्टराईले देउवालाई लक्ष्यित गर्दै भने, ‘प्रतिपक्षी दलका नेता लामो समय बेलायतमा पढ्नुभो । बेलायतको संसदीय अभ्यास र सभ्यता धेरै बुझ्नुभो होला भन्ने अनुमान गरेको थिएँ । विश्वविद्यालय बढी जानुपरेर होला, संसद्तिर जाने फुर्सद् भएनछ।’

सभामुख संसद्को मुख्य व्यक्ति भएको बताउँदै उनले भने, ‘यदि संसद्मा सभामुखको आदेश मान्दैनौँ । नियम कानून संविधान मान्दैनौँ किनकि दुनियाँले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमाने पनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ।’

कानून र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ ? भन्ने प्रश्न गर्दै उनले भने, ‘कानून परिपालनको अलग–अलग व्याख्या हुन सक्दैन । अस्तिको घटनामा न दुःख व्यक्त गर्न चाहन्छु।’

विनियोजन शीर्षकमाथि प्रवेश गर्दै उनले भने, ‘सदस्यहरूको आक्रोश व्यक्त भइरहेको छ । अर्को साल यसमा कुन जिल्लाको सदस्यले आक्रोश पोख्नुभो, त्यसमा एक–दुई शीर्षक थपिदिएर समाधान खोज्ने प्रयास गरिरहेका छौँ । टाउको दुखेको औषधि अन्त लगाएर हुँदैन । प्रणालीगत हिसाबले समाधान खोजौँ।’

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, असार ५, २०७६