Kathmandu Press

परीक्षणको दायरा बढाउँदै कामपा

काठमाडौं, जेठ ११ : कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । जेठ १४ देखि १८ सम्म पाँच...
परीक्षणको दायरा बढाउँदै कामपा

काठमाडौं, जेठ ११ : कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी महानगरको छ ।

परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने छ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिए। उनका अनुसार समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ ।

ठूलो समूहमा गर्न लागिएको यस किसिमको परीक्षणका लागि हाल काम गरिरहेका जनशक्तिले अपुग भए थपेर भए पनि परीक्षण गर्ने बताइएको छ । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ समूहलाई सक्रिय बनाइनेछ ।

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिने छ । परीक्षणका लागि कामपाका ठूला १५ वडामा प्रतिवडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक÷एक केन्द्र राखिनेछन् । आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने विभागले जनाएको छ ।

कामपाको ३२ वडाबाट मात्रै अहिले दैनिक ६ सय जनाको पिसिआर परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४ सयभन्दा बढीमा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । संक्रमण बढेपछि अघिल्लो आइतबारदेखि कामपाले १६ वटा केन्द्र बनाएर पिसिआर परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति: १०:०८ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्