श्रम समझदारीको विषयमा मलेसियासँग छलफल
काठमाडौं असार ५ : मलेसिया र नेपालबीच भएको श्रम समझदारीको विषय टुङ्गो लगाउन छलफल भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अव....

काठमाडौं असार ५ : मलेसिया र नेपालबीच भएको श्रम समझदारीको विषय टुङ्गो लगाउन छलफल भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा स्विट्जरल्यान्ड पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनबीच छलफल भएको हो। मलेसियाको श्रम समझदारीलाई कार्यान्वयन गर्न छलफल भएको जनाएको छ।
दुई देशबीच भएको शिष्टाचार भेटका क्रममा श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको लामो समय बितिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसकेको विषयमा छलफल भएको छ।
मंगलबार साँझ भएको भेटमा दुई देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा पनि छलफल भएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए।
नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंग्याउने गरी छलफल भएको सहसचिव घिमिरेले बताए।
जसका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक बस्ने जनाएको छ। छलफलका क्रममा कामदार भर्नालगायत प्रक्रियालाई अगाडि बढाउन दुई देशले हालसम्म गरेका तयारीका बारेमा समेत चर्चा भएको छ।
नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको थियो। तर, अहिलेसम्म पनि नेपाली कामदारले मलेसिया जान पाएका छैनन्।











