हेल्प डेस्कद्वारा सङ्क्रमितका घरघरमै अक्सिजन सिलिन्डर
हेटौंडा, जेठ १० : वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ ले आवश्यकताअनुसार कोभिड-१९ सङ्क्रमितका घरघरमै...
हेटौंडा, जेठ १० : वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ ले आवश्यकताअनुसार कोभिड-१९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ।
अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच, कर्राका एक र कान्तिराजपथका लागि एक थान कोभिड–१९ सङ्क्रमित बिरामीको घरघरका लागि पठाइएको सचिवालय संयोजक कृष्णकुमार गुप्ताले जानकारी दिए।
सङ्घको व्यवस्थापनमा स्थापना भएको कोभिड हेल्प डेस्कले जिल्लाका विभिन्न स्थानका कोभिड-१९ सङ्क्रमितलाई उपचारमा सहजीकरण गर्दै आएको छ। कोभिड-१९ सङ्क्रमित भई घरमै हाल आईसोलेशनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको गुप्ताले जानकारी दिए।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सङ्क्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै र यथोथिच सहयोग गर्ने आश्वासनका लागि सङ्क्रमितको घरमै गई स्वास्थ्यबद्र्धक च्यावनप्रास तथा मेडिकल मास्क वितरण गर्दै आएको छ।
हेल्प डेस्कलाई स्वास्थ्य सामग्री
सङ्घको सचिवालय स्थापना गरिएको कोभिड हेल्प डेस्कमा माडवारी एसोसिएशनले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। एसोसिएशनले हेल्प डेस्कमा कोभिड-१९ को रोकथाम र बचावट कार्य सघाउ पु¥याउने सामग्री ५० थान फेस शिल्ड, सात थान पुनः प्रयोग हुने पिपिई र १० लिटर स्यानिटाइजर सहयोग गरेको हो।
यसैबीच सोही हेल्प डेस्कलाई स्थानीयवासी लता पराजुलीबाट १० थान अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको छ। त्यसैगरी स्वास्थ्यकर्मीको टोलीले दैनिकरुपमा कोभिड सङ्क्रमितलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरेको छ।
अनमी दिव्या बस्नेत पोखरेल र सिनियर अहेब प्रवीन पुडासैनीबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने तथा परामर्श दिने कार्य गरिएको छ ।
सिलिण्डर हस्तान्तरण
कोभिड-१९ का बिरामीलाई उपचारमा सघाउ पु¥याउने उद्देश्यले हेटौँडा अस्पताललाई विभिन्न सङ्घसंस्थाले अक्सिजन उपलब्ध गराउने क्रम जारी छ ।
त्यसअन्तर्गत आज (सोमबार) एमालेनिकट अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताललाई ५० थान अक्सिजनसहितका सिलिण्डर हस्तान्तरण गरेको हो।
अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर सहयोग गरिएको अनेमसङ्घका जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको जानकारी दिइन्।
एमाले नेत्री एवम् प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई उक्त सिलिण्डर हस्तान्तरण गरिन्।











