Kathmandu Press

धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर

काभ्रेपलाञ्चोक, जेठ १० : सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ। सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड...
धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर

काभ्रेपलाञ्चोक, जेठ १० : सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ। सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले ६ करोड ८० लाख रुपैयाँ अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ ।

सो अस्पतालले काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईका क्षेत्रलाई समेत उपचार सेवा पुर्याउँदै आएकाले आइतबार थप उपकरण पठाइएको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए। ‘जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिक समेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैँ कोरोना महामारी व्यवस्थापन गर्न अनुदानसँगै थप चार थान भेन्टिलेटर ल्याइएको हो,’ उनले भने।  

यसअघि सरकारद्वारा घोषणा गरिएको अनुदान प्रदानका लागि प्रक्रिया भइरहेको जनाइएको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत सो अस्पताललाई कोभिड महामारी व्यवस्थापनार्थ ६ करोड ८० लाख दिने घोषणा गरिएको हो।

धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करिब ३ अर्ब बजेट विनियोजन गरिएको छ। 

मन्त्रालयले विनियोजित गरेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम माग गर्ने जनाउँदै आइतबार ती अस्पताललाई २ अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो।

अस्पतालमा सकेसम्म छिटो अक्सिजनको व्यवस्थापन गर्न सकिए कोरोना बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई कोरोना बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाएको छ। घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आइसियु, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ।

अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजूले सरकारको अनुदान सहयोगपछि कोरोनाका बिरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्ने बताए। उनका अनुसार अस्पतालमा एचडियू, आइसियू र सामान्य गरी १२५ श्यया कोरोना सङ्क्रमितको उपचारार्थ प्रयोग गरिएको छ। धुलिखेलबाहेक बनेपामा शिर मेमोरियललगायत चार अस्पताल छन् । 

जेठ पहिलो सातादेखि बनेपामै २५ शैयाको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ। यहाँ जिल्ला अस्पताल छैन । नमोबुद्ध नगरपालिकाको भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतिको प्रक्रियामा रहेको छ।

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्