जेठ १२ गते चन्द्रग्रहण, नेपालबाट नदेखिने
काठमाडौं, जेठ १० : जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएको छ। नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने...
काठमाडौं, जेठ १० : जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएको छ।
नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए। ‘नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ,’ उनले भने।
यो छायाँजनित ग्रहण भएकोले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। ‘पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन,’ सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्नेगर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो। (रासस)











