Kathmandu Press

मुख्यमन्त्री तथा मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भने–नातावाद र कृपावादमा अल्झेर सरकारलाई बदनाम नबनाउनुस्

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले नातावाद र कृपावादमा अल्झेर सरकारलाई बदनाम नबनाउन मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आग्रह गरेक....

मुख्यमन्त्री तथा मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले भने–नातावाद र कृपावादमा अल्झेर सरकारलाई बदनाम नबनाउनुस्

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले नातावाद र कृपावादमा अल्झेर सरकारलाई बदनाम नबनाउन मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले अन्य कुरामा नअल्झिएर जनताको अधिकार रक्षाका लागि प्रतिबद्ध भएर लाग्न मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आग्रह गरेका हुन्।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गरेर आलोचना नै नहुने वातावरण बनाउनु पर्ने बताए। उनले विगतदेखिकै प्रणालीको ढिलोपनले विकासमा समस्या रहेकाले हिउँदको समीक्षा वर्षादमा गर्नुपर्दा वास्तविक तथ्यांक आउन नसकेको बताए,।

यद्यपि विकास निर्माणका कामबारे निराश हुनुपर्ने स्थिति नभएको उनको भनाइ छ। ‘७ प्रतिशतको आर्थिक वृद्धिदर हुनु तथा कानून निर्माणको काम द्रूत गतिमा अघि बढ्नु नै प्रमुख उपलब्धि हुन्,’उनले भने।

छोटो समयमा संघीय संरचना स्थायित्वतर्फ गएको बताउँदै प्रधानमन्त्री ओलीले सहयोग गर्ने सबै तहलाई धन्यवाद समेत दिए। उनले राष्ट्रिय गौरवका आयोजनाको प्रगति केहीको बाहेक उत्साजनक रहेको बताए। सिंचाइको सुविधा यस वर्षमा मात्रै ३ हजार हेक्टरमा विस्तार भएको उनको दाबी थियो।

कानूनी झन्झटले विकासमा अवरोध हुन नहुनेतर्फ जोड दिँदै प्रधानमन्त्री ओलीले बाधा अड्काउ फुकाउ गरेर अगाडि बढ्नु पर्ने बताए। कुनै विषयमा मुद्दा परेको भनेर आयोजना रोकेर राख्नु गलत भएको बताउँदै उनले काम अगाडि गरेर काम सम्पन्न गरेर पछि छानविन गर्दै जाने र दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए। 

अब अलपत्र रहेका ठेक्का र आयोजनामा एक पटक समय दिने र गर्न नसक्नेलाई कारबाही गरेर अयोग्य घोषणा गर्ने काम सरकारले गर्ने उनले बताए। मेलम्चीमा समेत ठेकेदार कम्पनीले धोका दिँदा ढिला भएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अब द्रूतगतिमा काम अघि बढाउन निर्देशन दिए।

समितिको बैठकमा संघीय सरकारका सबै मन्त्री, सचिव तथा सातवटै प्रदेशका मुख्य मन्त्रीहरु सहभागी थिए। छलफलमा भाग लिएका मन्त्री तथा मुख्यमन्त्रीहरुले समस्या समाधानका लागि पहल छिटो गर्न माग गरेका थिए।

प्रकाशित मिति: १९:११ बजे, बुधबार, असार ४, २०७६