Kathmandu Press

पाँच विद्यार्थी संगठनले भने– संसद विघटन गर्ने निर्णयको प्रतिरोध गर्नुहोस्

काठमाडौं, जेठ ९ : पाँच विद्यार्थी संगठनले संसद विघटन गर्ने निर्णयको प्रतिरोध गर्न आह्वान गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल...
पाँच विद्यार्थी संगठनले भने– संसद विघटन गर्ने निर्णयको प्रतिरोध गर्नुहोस्

काठमाडौं, जेठ ९ : पाँच विद्यार्थी संगठनले संसद विघटन गर्ने निर्णयको प्रतिरोध गर्न आह्वान गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जसपा बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेताहरुले सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाडविरुद्ध आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्न सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गरेका छन् । 

उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको र त्यस्तो अवस्थामा मध्यावधि निर्वाचनको घोषणा गर्नु राज्यको देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा मात्र नभएर जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराधसमेत भएको जिकिर पनि गरेका छन्।

सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको दोस्रोपटकको विघटन सर्वभौम जनतामाथि गरिएको निरंकूश र अधिनायकवादी डकैती भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट संसद विघटनको घोर निन्दा र भर्त्सना गर्दछौं।’ 

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु (माधव नेपाल पक्ष) का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षरमा संयुक्त विज्ञप्ति निकालिएको हो।

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्