कोरोना महामारीसबीच भियतनाममा संसदीय निर्वाचन

हानोई, जेठ ९ : कोरोना महामारीबीच भियतनाममा संसदीय निर्वाचन भइरहेको छ। ५ सय सिटका लागी भियतनाममा आइतबार निर्वाचन भइरहेको हो।
अहिले भियतनाममा कम्युनिस्ट पार्टी सत्तामा छ । अघिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीले भारी बहुमत ल्याएको थियो। भियतनाममा अहिले लगभग ६ करोड ९२ लाख मतदाता छन् ।
‘मलाई आशा छ, सबै मतदाताहरूले देशप्रतिको आफ्नो भूमिका बुझेका छन् र उनीहरूको आवाज प्रतिनिधित्व गर्न सबैभन्दा भरपर्दो र योग्य उम्मेदवारहरू छनोट गर्न निर्वाचनमा सामेल हुनेछन्,’ राष्ट्रिय सभाका अध्यक्ष वुयोङ डिन ह्युले भने।
अहिले भियतनाममा भइरहेको निर्वाचनमा राष्ट्रिय सभाका लागि ९२ प्रतिशत उम्मेदवारहरू कम्युनिस्ट पार्टीका सदस्य छन्। अघिल्लो निर्वाचनमा ६ करोड ७५ लाख लगभग ९९ प्रतिशत मतदाताले मतदान गरेका थिए।
निर्वाचन परिणाम करिब दुई सातापछि घोषणा गरिने निर्वाचन आयोगले बताएको छ। भियतनाममा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार १ सय ४१ जना छ भने मुत्यु हुनेको संख्या ४३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या २ हजार ९ सय २१ रहेको छ।












