प्रतिनिधिसभा फेरि पुनःस्थापित हुन्छ : प्रचण्ड
काठमाडौं, जेठ ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा फेरि पुनःस्थापित हुने विश्वास छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाडौं, जेठ ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा फेरि पुनःस्थापित हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पाँच दलको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले संसद विघटनविरुद्ध आफूहरु अदालत जान लागेको र अदालतले संसद पुनःस्थापित गर्ने बताएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन शुक्रबार हस्ताक्षर गर्ने १ सय ४९ र अन्य थप सांसदसहित सर्वोच्चमा जाने र त्यहाँ आफ्नै पक्षमा फैसला हुने उनको भनाइ थियो।
‘मध्यरातिमा अपारदर्शी तरिकाले, निरंकुश र षडयन्त्रमूलक ढंगले जसरी संसद् फेरि विघटन गरिएको छ। त्यसको प्रतिवाद सडकमा पनि, अदालतमा पनि गरिनेछ,’ उनले भने, ‘हामीलाई विश्वास छ, अदालतले फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा निरंकुशताविरुद्ध फैसला गर्नेछ।’
सबै शक्ति कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक ढंगले देशलाई दुर्घटनातिर लगेको प्रचण्डको आरोप थियो।
निर्वाचन पनि गर्न घोषणा नगरिएको उनको भनाइ थियो। चुनाव संविधानसम्मत नभएकाले त्यसको कुनै अर्थ नभएको उनले बताए।











