राष्ट्रपतिलाई महाभियोग लगाऔं : विवेकशील साझा
काठमाडौं, जेठ ७ : विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसदमा विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट...
काठमाडौं, जेठ ७ : विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसदमा विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न आह्वान गरेको छ।
शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै विवेकशील साझाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।’
नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको विवेकशील साझाको ठहर छ। विवेकशील साझाले भनेको छ– प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो।
वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता भएको साझा पार्टीको भनाइ छ।











