कर्णालीमा खसेका १० यात्रु दुई दिनदेखि वेपत्ता, सरकारले वास्ता नगरेको गुनासो
हुम्ला, असार ४ : हिजो दिउसो कर्णालीमा खसेको हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० यात्रु बोकेको बोलेरो अझै भेटिएको छैन। उनीहरूको खोजीका लागि ....

हुम्ला, असार ४ : हिजो दिउसो कर्णालीमा खसेको हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० यात्रु बोकेको बोलेरो अझै भेटिएको छैन। उनीहरूको खोजीका लागि सरकारले वेवास्ता गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
हिजो दिउसो साढे १२ बजे खार्पुनाथबाट हुम्ला सदरमुकाम सिमकोट आउदै गरेको लु १ ज ७१६६ नम्बरको बोलेरो कर्णाली नदीमा खसेको थियो। त्यसमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालसहित १० जना यात्रु रहेको खुलेको छ। यात्रुको संख्या त्योभन्दा पनि बढी हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बोलेरोमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उनको दुई वर्षको छोरा रहेको खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए।
त्यस्तै, गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री पनि थिए। उनको परिचय खुल्न सकेको छैन। गाडीमा कति जना थिए भन्ने अझै पनि एकीन भएको छैन।
बोलेरो खार्पॅनाथ यातायात प्रालिले सञ्चालन गरेको थियो। प्रालिका चार बोलेरो संचालनमा छन्। त्यसमा १६ जनाको सिट रहेको प्रालिका अध्यक्ष सरोज रावतले बताए ।
दुर्घटनास्थल सदरमुकाम सिमकोटबाट १४ किलोमिटर टाढा उत्तरमा छ। बोलेरो खसेको स्थानमा आठ मिटर चौडा सडक रहेको जनाएको छ। त्यहाँबाट ३० मिटर तल कर्णालीमा खसेको हो।
आज बोलेरो खसेको स्थानभन्दा तल कर्णाली नदीमा दुइटा झोला भेटिएका छन्। एउटा झोला गाउँपालिका उपाध्यक्ष हमालको रहेको जनाएको छ।
यात्रु र बोलेरो भने भेटिएको छैन। खोजी भइरहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुर्याइएको थियो।
तर, कणाली नदीमा पानीको वहाव धेरै रहेको र चिसो पनि भएकाले खोजी गर्न कठिन भइरहेको पोखरेलले बताए। खोजीका लागि काठमाडौंबाट गोताखोर बोलाइएको उनको भनाइ छ।
स्थानीय बासिन्दाले भने सरकारले वेपत्ता यात्रुको खोजीका लागि ध्यान नदिएको गुनासो गरेका छन्। दुई दिन हुँदा पनि खोजीका लागि चासो नदेखाएको उनीहरूको आरोप छ।
आज पनि बिहानैदेखि सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा लागिरहेका छन्।











