प्रदर्शनलाई प्रधानमन्त्रीले ‘लोकतन्त्र र विकास विरोधी’ को संज्ञा दिनु आपत्तिजनक: कांग्रेस
काठमाडौं, असार ३ : नेपाली कांग्रेसले स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार विपरित सडकमा देखिएका विरोधलाई प्रधानमन्त्री केपी ओलील....

काठमाडौं, असार ३ : नेपाली कांग्रेसले स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार विपरित सडकमा देखिएका विरोधलाई प्रधानमन्त्री केपी ओलीले ‘लोकतन्त्र विरोधी’ भनेर टिप्पणी गरेकोप्रति आपत्ति जनाएको छ।
प्रधानमन्त्री ओलीले मंगलबार सिहदरबारमा पत्रकार सम्मेलन गरी गुठी विधेयक विरुद्ध सडमा भएको विरोधलाई ‘लोकतन्त्र मास्नेहरु सल्वलाएको’ भनेर टिप्पणी गरेका थिए। ‘प्रधानमन्त्रीबाट पत्रकार सम्मेलन मार्फत कतिपय विधेयक विरुद्धको सडकका आवाजहरुलाई ‘लोकतन्त्र विरोधी’ को संज्ञा दिनु झनै आपत्तिजनक छ’ मंगलबार साँझ कांग्रेस प्रवक्ता विश्वप्रकश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘पत्रकार सम्मेलन मार्फत् विधेयकहरु विरुद्धको आवाज र प्रदर्शनहरुलाई प्रधानमन्त्रीले ‘लोकतन्त्र र विकास विरोधी’ संज्ञा दिनु घोर आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ, ‘हिजो निर्वाचनमा मत दिई रहँदा तिनै नागरिक ‘महान्’ आज विरोधमा उभिंदा लोकतन्त्र विरोधी? नेपाली कांग्रेस उहाँलाई स्मरण गराउन चाहन्छ सडकमा प्रस्तुत विरोधको आवाज होइन गुठीको विधेयक चाहि लोकतन्त्र, परम्परा र संस्कृतिको विरुद्धमा छ।’
कांग्रेसले केहि समय यता संसद र सडकमा सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सील लगायतका विधेयकहरु विरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नु पूर्व प्रतिपक्षी नेताले ती विषयहरु उपर आम नागरिकको भावना राख्न चाहनु विल्कुलै स्वभाविक भएको जनाउदै त्यसप्रति प्रधानमन्त्रीको कटाक्ष पनि लोकतान्त्रिक संस्कार विपरित भएको जनाएको छ।
‘विधेयकहरुका विरुद्ध देशव्यापी रुपमा भइरहेका विरोधका स्वरहरुलाई विधिवत रुपले प्रतिपक्षी नेताले संसदमा प्रविष्ट गराए पछि प्रधानमन्त्रीले त्यस उपर आवश्यक सम्बोधन गर्ने कुरा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक कुरा हुन्थ्यो’ विज्ञप्तिमा भनिएको छ, ‘तर त्यस ढंगले सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्ने प्रपञ्च गर्दा संसदमा द्वन्द्व हुनु स्वभाविक थियो। विपक्षी स्वरलाई म सुन्न चाहन्छु भन्ने लोकतान्त्रिक व्यवहार न त प्रधानमन्त्रीबाट प्रस्तुत भयो न त ‘सरकार बहुमतको संसद प्रतिपक्षको’ भन्ने मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन सक्यो। प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणाममा आजको घटना भयो।’
विज्ञप्तिमा मिडिया काउन्सील लगायतका पछिल्ला विधेयकहरु संविधानको भावना प्रतिकूलमा छन् र लोकतान्त्रिक मूल्य एवं जनभावना विरुद्धमा भएको उल्लेख छ।
कांग्रेसले गुठी विधेयक फिर्ता लिएको घोषणा गरिए पनि आम जनसमुदायको खबरदारी जारी राख्नु पर्ने जनाएको छ। ‘सरकारले विधेयक भित्रको गल्ती स्वीकारेको भन्दा ‘नागरिकमा भ्रम सिर्जना गरिएको र वातावरण विथोल्ने प्रयास गरिएको’ आरोप लगाउँदै सो विधेयक फिर्ता लिइएको वक्तव्य जारी गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘गुठी, मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग, विश्वविद्यालय, सामुदायिक वन लगायतका प्रस्तावित सबै विधेयकहरु सारमा अधिनायकवाद उन्मुख आकांक्षालाई पृष्ठपोषण गर्ने मनस्थितिको जगमा कोरिएका छन्।’
कम्युनिष्ट दर्शनको शास्त्रीय हठबाट होइन नेपालको वर्तमान संविधानको लोकतान्त्रिक चेतबाट अगाडिको बाटो तय गर्न नेपाली कांग्रेस सरकारलाई सजग गराउन चाहेको विज्ञप्तिमा उल्लेख छ।











