कांग्रेस प्रवक्ता शर्मा भन्छन्- संविधान छल्ने र संसदलाई प्रयोजनहीन बनाउने षडयन्त्र
संविधानको धारा ७६ (३) अन्तर्गत्को प्रधानमन्त्री बहाल छँदै धारा ७६ (५) अन्तर्गत सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको कदमलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहीन बनाउने षडयन्त्रको संज्ञा दिएका छन् ।
काठमाडौं, जेठ ६ : संविधानको धारा ७६ (३) अन्तर्गत्को प्रधानमन्त्री बहाल छँदै धारा ७६ (५) अन्तर्गत सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको कदमलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहीन बनाउने षडयन्त्रको संज्ञा दिएका छन् ।
‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ ?’ सामाजिक सञ्जालमा लेख्दै नले भनेका छन्, ‘प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ !’
कांग्रेस नेता गुरुराज घिमिरेले पनि राष्ट्रपतिको कदमलाई वर्तमान राजनीतिको कुरुप चित्र संज्ञा दिएका छन् । ‘वर्तमान सरकारले संविधानको धज्जी उडाउन अब केही बाँकी रहेन। अब प्रधानमन्त्रीलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन,’ उनले भनेका छन्, ‘लोकतन्त्र लहडी र सनकी व्यक्तिको अभिष्ट पूरा गर्ने हतियार होइन। राज्यका कुनै पनि अंग कार्यकारीका मतियार बन्नु हुँदैन। सरकार बनाउन २१ घण्टा !’











