गण्डकीका नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण
पोखरा, जेठ ६ : गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार...
पोखरा, जेठ ६ : गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उनले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताए।
कोरोना महामहारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेशमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा उच्च प्रगति हासिल गर्नेतर्पm सरकार क्रियाशील बन्ने उनले बताए।
आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट तर्जुमाको चरणमा रहेको हुनाले जिल्लाका सन्तुलन, रोजगारी सिर्जना, कोरोनाबाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनीकरण र आर्थिक समृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उनले जोड दिए।
युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवं सामाजिक आर्थिकरूपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशीलता विकासका लागि व्यावसायिक, सीपमूलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पु¥याइने उनले बताए।
प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए। सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान कार्यक्रम समुदायमा आधारित वनको संरक्षण, उत्पादन वृद्धि र संस्थागत सृदृढीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पारे।
पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीले मन्त्री लम्साललाई स्वागत गरेका थिए।











