ग्वाटेमालाको कारागारमा झडप, चार जनाको मृत्यु

ग्वाटेमाला सिटी, जेठ ६ : मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको क्वाएटसेल्टानाङगो शहरको क्यान्टेल कारागारमा झडप हुँदा चार जनाको मुत्यु भएको छ।
क्वाएटसेल्टानाङगो शहरको क्यान्टेल कारागारमा दुई गिरोह बिचको झडपमा परि कम्तीमा चार कैदीको मृत्यु भएको हो ।
मारा साल्भाट्रुचा र ब्यारियो १८ नामक गिरोहका कैदीहरूबीच झडप हुँदा चार जनाको टाउको काटी हत्या गरिएको क्यान्टेल कारागारका प्रहरी अधिकारीहरुले बताएका छन् ।
राजधानी ग्वाटेमाला सिटीबाट करिव दुई सय किलोमिटर टाढा रहेको क्यान्टेल कारागारमा दुई हजारभन्दा बढी कैदी रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । क्यान्टेल कारागारमा लागु औषध व्यापार गर्ने गिरोहको कैदीहरुलाई राखिएको छ।
राष्ट्रिय प्रहरीका प्रवक्ता जर्ज अगुइलरले लगभग पाँच सय बढी प्रहरी अधिकारीलाई जेलमा कैदीको रेखदेख र नियन्त्रण गर्न खटाइएकोे बताएका छन्।
‘हाल झडपमा परि चार जनाको मृत्यु भएको कुरा हामीलाई जानकारी छ । हामीलाई प्राप्त प्राथमिक सूचनामा चार जनाको शिर काटी हत्या गरेको बताइएको छ ,’ प्रवक्ता जर्ज अगुइलरल भने ।
प्रहरी अधिकारीहरुका अनसार घटनाको अनसन्धान भइरहेको छ ।












