लोकतन्त्रका जरा काट्ने कैचीहरु गुठी विधेयकलाई लिएर फेरि चल्मलाउन थाले: प्रधानमन्त्री ओली
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो लोकतन्त्रका जरा काट्ने कैचीहरु फेरि चल्मलाउन थालेको आरोप लगाएका छन्।
सिंहद....
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो लोकतन्त्रका जरा काट्ने कैचीहरु फेरि चल्मलाउन थालेको आरोप लगाएका छन्।
सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले भने,‘ लोकतन्त्रका जरा काट्ने कैचीहरु गुठी विधेयकलाई लिएर फेरि चल्मलाउन थालेका छन्। यसबारे सोच्नु पर्ने बेला आएको छ।’
प्रधानमन्त्री ओलीले गुठी विधेयकविरुद्ध लोकतन्त्र विरोधी शक्तिहरुको घुसपैठ भएको पनि आरोप लगाए। प्रधानमन्त्री ओलीले केही शक्तिहरुले आवेश उत्तेजना फैलाएर आफ्नो दुनो सोझ्याउन खोजेको पनि आरोप लगाए।
‘यो नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र हो। त्यही लोकतन्त्रविरुद्ध घुसेर लोकतन्त्रका जरा काट्ने कैचीहरु चल्मलाउन थालेको देखिन्छ,’ उनले भने,‘यतिबेला देशबासी दाजभाइ दिदीबहिनीहरुले सोच्नु पर्ने बेला आएको छ।’
उनले विधेयक बन्ना साथ माइतीघर मण्डला कुदेर गइहाल्ने प्रवृत्ति राम्रो नभएको बताए। विधेयकमाथि छलफल गर्न संसद रहेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘कहिले एउटा विधेयक बन्यो माइतीघर मण्डला, फेरि अर्को विधेयक बन्यो माइतीघर मण्डला। विधेयकमाथि छलफल गर्न संसद छ नि। त्यसमा राय सुझाव लिन सकिन्छ, सरोकारवालाहरूसँग कुरा गर्न सकिन्छ। तर, माइतीघर त साच्चिकैको माइतीघर नै भएछ। केही भयो कि माइतीघर कुदेर गइहाल्ने।’
उनले कुनै पनि विषयलाई लिएर आन्दोलन गरी रहनु नपर्ने बताए। ‘लोकतन्त्रमा सबै समस्याको समाधान सम्वादबाटै गर्न सकिन्छ आन्दोलन गर्नु पर्दैन। सरकार सम्वादका लागि सदैव तयार नै छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले जनताले जे चाहन्छन् र जे भन्छन् त्यही काम सरकारले गर्ने बताए। उनले लोकतन्त्र विरोधी, गणतन्त्र, संघीयता र विकासका प्रयासलाई कमजोर पार्ने गतिविधि अनुचित र अवाञ्छित विरोधका स्वरहरु अनवरतरुपमा आउनु उपयुक्त नभएको बताए।
प्रधानमन्त्री ओलीले लोकतन्त्र, गणतन्त्र, संघीयता, जनताको शासन, सार्वभौम सत्ता र लोकतान्त्रिक अभ्यासविरुद्ध अलोकतान्त्रिक शक्ति लागिरहेको बताए।
‘विभिन्न प्रकारका होल दक्षिणदेखि अत्ति दक्षिणपन्थी अति बामपन्थी प्रतिक्रियाबादी समूह एकजुट भएको अवस्था छ। घोर दक्षिणदेखि घोर वामपन्थीसमेत एक जुट भएका छन्। यसप्रति कांग्रेस सजह हुनु पर्नेमा आफै परिवर्तनकारी शक्तिहरुलाई विथोल्न लागेको छ,’ उनले भने।
'यो सरकार कतैबाट फुत्त आएको होइन'
प्रधानमन्त्री ओलीले आफ्नो पार्टी र वर्तमान सरकार अचानक कतैबाट फुत्त नआएको बताए। उनले संविधान लेखेरै र परिवर्तन ल्याएर जनताका सपना साकार पारेर आएको सरकार भएको बताए।
‘अहिले जुन पार्टीले नेतृत्व गरेको छ। यो पार्टी अचानक फुत्त कतैबाट निस्किएर केही सेन्सेसनल नारा दिएर सरकारमा पुगेको होइन,’ उनले भने। लोकतन्त्रको रक्षाका निम्ति प्रतिबद्ध सरकार भएको उनले बताए।






