संसद अवरोधबारे प्रधानमन्त्री ओलीले भने–कांग्रेसले बालहठ देखायो
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यादित व्यवहार गरेको आरोप लगाएका छन्। ....
काठमाडौं, असार ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यादित व्यवहार गरेको आरोप लगाएका छन्।
सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीभन्दा अघि म बोल्न पाउनु पर्छ भनेर भन्नु बालहठ भएको टिप्पणी गरे।
‘प्रधानमनत्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्न पाउनु पर्छ भन्ने बालहठ लोकतन्त्रमा कहिँ पनि हुँदैन,’प्रधानमन्त्री ओलीले भने,‘संसदमा आज आश्चर्यलाग्दो गरी कांग्रेसले बालहठ देखायो।’
प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक अभ्यास र लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री समसामयिक विषयमा आवश्यक परेका बेला संसदलाई विभिन्न विषयमा सरकारका दृष्टिकोणहरु जानकारी गराउने र निर्णयबारे जानकारी गराउने अभ्यास हुने पनि बताए।
उनले लोकतान्त्रिक अभ्यासमा पहिले प्रधानमन्त्री र त्यसपछि विपक्षी दलका नेताले अनि वरियता अनुसार बोल्ने चलन हुने बताए। ‘यहाँ हरेक कुरामा निहुँ खोज्ने काम भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने,‘शेरबहादुर देउवाजीले प्रधानमन्त्रीले होइन मैले नै बोल्न पाउनु पर्छ भनेर वेल घेराउ गर्न नै आउनु भयो। तर, उहाँलाई संसदीय मर्यादा थाहा हुनु पर्ने हो।’






