संसदमा प्रधानमन्त्रीलाई बोल्न नदिनु कांग्रेसको नाजायज काम : नेपाल
काठमाडौं, असार ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएर संसद अबरोध....

काठमाडौं, असार ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएर संसद अबरोध गर्नु प्रतिपक्षी कांग्रेसको नाजायज काम भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले प्रतिपक्ष कांग्रेसको माग नाजायज भएको टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नु पर्ने बताए। ‘प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि सबैले कुरा सुन्नु पर्छ। त्यसपछि प्रतिपक्षीले बोल्ने हो,’ उनले भने।
उनले सभामुखको रुलिङ पालना नगरेर कांग्रेसले गलत संसदीय नजिर बसाल्न खोजेको आरोप लगाए। ‘सभामुखको रुलिङ मान्नु पर्छ। सभामुखकै रुलिङ पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ,’ उनले भने।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई सम्बोधन गर्न रोष्टममा पुग्नासाथ कांग्रेसले अवरोध पुर् याएको थियो। कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीभन्दा पहिले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने माग गरेका थिए।
तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो।











