Kathmandu Press

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने

हेटौंडा, जेठ ५ : बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ। 

अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच सम्झौता भएको छ। प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो। सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका छन्। 

प्लान्ट निर्माण रु एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान सङ्घले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग सङ्घले गर्ने र आर्थिक जोहो सङ्घसँग आबद्ध उद्योगीहरुले गर्ने सङ्घले जानकारी दिएको छ।

जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०÷३० दिनभित्र प्लान्ट जडान भइसक्ने सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिए। प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए।

यसैबीच मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ। (रासस)

प्रकाशित मिति: ०७:४१ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्