गुठी विधेयकविरुद्ध पशुपति क्षेत्रमा झाँकीसहित प्रदर्शन
काठमाडौं, असार ३ : गुठी विधेयको विरोधमा पशुपतिनाथ ग्वल पुचः समाजले पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको छ। समाजले सांस्कृतिक झाँकी र बाजागाजासहित....

काठमाडौं, असार ३ : गुठी विधेयको विरोधमा पशुपतिनाथ ग्वल पुचः समाजले पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको छ। समाजले सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको हो।
पशुपतिनाथ मन्दिरबाट सुरू भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर पुगेर विरोध सभामा परिणत भएको थियो।
प्रदर्शनमा सांसद गगन थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका वडा नं ७ र ८ का जनप्रतिनिधिलगायत सहभागी रहेका थिए।
सहभागीले ‘नेपालको मौलिक जीवन्त सांस्कृतिक जात्रा पर्व मास्न पाइँदैन, गुठी विधेयकका नाममा धर्म संस्कृति नाशिन दिँदैनौँ, गुठी विधेयक फिर्ता गर’लगायत नारा लगाएका थिए। सांसद थापा, प्रदेशसभा सदस्य वैद्यलगायतले गुठी विधेयकका नाममा मौलिक सम्पदामाथि आक्रमण हुन लागेकाले फिर्ता लिनुपर्ने बताए।
पशुपति क्षेत्रमा अमालकोट कचहरी कार्यालय, जयबागेश्वरी भण्डार तहविल कार्यालय, पशुपति भण्डार तहविल कार्यालय नामका पशुपतिसँग सम्बन्धित गुठी छन्। यस अलावा निजीस्तरबाट खुलेका जात्रा पर्व एवं संस्कारसम्बन्धी सयौँ गुठी रहेको पुचः समाजका अध्यक्ष केदारमान भण्डारीले बताए।
पशुपतिका नाममा रहेका तीनै वटा गुठी २०५५ देखि पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालनमा रहेका छन्। त्यसअघि तीनवटै कार्यालय बेग्लाबेग्लै सञ्चालन हुने गरेको अमालकोट कचहरी कार्यालयका गणेश श्रेष्ठले बताए।
पशुपतिका तीनै गुठी छुट्टै सञ्चालन हुँदा यसको रेखदेख मूलभट्टले गर्ने परम्परा थियो।











