Kathmandu Press

गुठी विधेयकविरुद्ध फेसबुक स्टाटस लेख्दा क्याप्टेन विजय लामालाई जापान भ्रमणमा रोक

काठमाडौं, असार ३ : गुठी विधेयकको विरुद्धमा फेसबुकमा स्टाटस लेखेपछि नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई जापान भ्रमणमा जानबाट रोकिएको छ।

....
गुठी विधेयकविरुद्ध फेसबुक स्टाटस लेख्दा क्याप्टेन विजय लामालाई जापान भ्रमणमा रोक

काठमाडौं, असार ३ : गुठी विधेयकको विरुद्धमा फेसबुकमा स्टाटस लेखेपछि नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई जापान भ्रमणमा जानबाट रोकिएको छ।

सरकारले ल्याएको गुठी विधेयकको विषयमा क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेखेको भन्दै कार्यकारी अध्यक्ष मदन खरेलले जापान भ्रमणको टोलीबाट हटाएका हुन्। क्याप्टेन लामाले गुठी विधेयक खारेज वा फिर्ता गर्न सरकार समक्ष माग राखेका थिए।

क्याप्टेन लामाले गत शनिवार फेसबुकमा स्टाटस लेखेर सरकारले ल्याउन लागेको गुठी विधेयको विरोध गरेका थिए। सोही स्टाटसलाई आधार मान्दै कार्यकारी अध्यक्ष खरेलले जापान जाने तीन सदस्यीय टोलीमध्ये लामाको नाम शनिबार राति नै हटाएका हुन।

निगम उच्च स्रोतका अनुसार अध्यक्ष खरेलसहितको टोली सोमबार जापान उडेको छ। आगामी भदौ १२ गतेदेखि काठमाडौं–ओसाका उडानको तयारीका लागि निगमको टोलीमा पाइलट लामासहित तीन सदस्य सोमबार बैंकक हुँदै जापान जाने कार्यक्रम थियो।

थाई एयरवेजको उडानबाट निगमका कार्यकारी अध्यक्ष खरेलसहित, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामा त्यसतर्फ जाने कार्यक्रम तय गरिएको थियो। तीनै जनाको होटल बुकिङ र टिकट समेत काटिएको थियो।

तर, फेसबुक स्टाटस लेखेका कारण क्याप्टेन लामालाई जापान भ्रमणबाट रोकिएको हो। सोमबार अध्यक्ष खरेल र वाणिज्य विभागका निर्देशक दाहाल मात्रै जापानतर्फ लागेको निगम स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा कार्यकारी अध्यक्ष बनेका मदन खरेलले सकारविरुद्ध स्टाटस लेखेको भन्दै भ्रमण टोलीबाट हतारहतार नाम काट्न लगाएका थिए। क्याप्टेन लामाले विमानस्थलबाट उडानमा जान लागेकाले पछि मात्रै प्रतिक्रिया दिने काठमाडौंं प्रेसलाई बताए।

यस्तो थियो क्याप्टेन लामाको फेसबुकमा स्टाटस

गुठी विधेयकले तताएको छ नेपाल! यो विधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहार माथि! नेवार समुदाय मात्र नभएर सम्पूर्ण अन्य समुदायहरूलाई पनि आतंकित बनाउन थालिसकेको छ केही समयदेखि यो सरकारको काम गतिविधिले!

२/३ को सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बढेको त होइन? त्यस्तो चाहिँ नहोस पनि किनकि जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वरमा बिरोध गर्छन त्यति बेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाई!

नेवा समुदाय र अन्य समुदाय ज–जसले नेपालको कला, संस्कृति र सम्पदालाई सम्हालेर र संरक्षण गरी राखेका छन, ...वहाँहरूलाई हामी सबैको साथ छ! काधमा काध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिनेछौ! तपाईहरू एक्लो हुनुहुन्न, सम्पूर्ण नेपाली परिवार तपाईहरूको साथमा छ!

त्यसैले फिर्ता लेऊ, खारिज गर यो गुठी विधेयक यदि कला, सम्पदा र संस्कृतिको जगेर्णा गरेर राख्ने हो भने! देशमा शान्ति ल्याउने हो भने! जय चन्द्र सुर्य!!

 

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, असार ३, २०७६