Kathmandu Press

गुठी विधेयकबारे प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौं, असार ३ : गुठी विधेयकका विरुद्ध आन्दोलन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा र राष्ट्र....

गुठी विधेयकबारे प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने
काठमाडौं प्रेस

काठमाडौं, असार ३ : गुठी विधेयकका विरुद्ध आन्दोलन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा पनि सांसदहरूले गुठी विधेयकका विषयमा बोलेका छन्। सत्तापक्षकै कतिपय सांसदले पनि यसको विरोध गरेका छन्। कांग्रेसलगायत विपक्ष दलका सांसदले यसको चर्को विरोध गरेका छन्।

त्यस्तै, गुठी विधेयकविरुद्ध आन्दोलन चर्किँदै गएको छ। संस्कृति मास्न खोजेको भन्दै काठमाडौंमा यसका विरुद्ध प्रदर्शन हुँदै आएको छ।

प्रधानमन्त्री ओलीले हिजो नेकपाका काठमाडौं उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरेका थिए। उनीहरूको राय सुनेपछि आज संसदमा सम्बोधन गर्न लागेका हुन्।

हिजो नै त्यसभन्दा अघि प्रधानमन्त्री ओलीले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफल गरेका थिए। मन्त्री अर्यालले गुठी विधेयक र त्यसका विरुद्ध भइरहेको आन्दोलनबारे ब्रिफिङ गरेकी थिइन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री ओलीले सम्बोधनमा गुठी विधेयक तत्कालका लागि स्थगत गर्ने जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलका सहभागी काठमाडौं उपत्यकाका नेकपाका सांसद, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले भने गुठी विधेयक फिर्ता लिन सल्लाह दिएका थिए।

बालुवाटार स्रोतका अनुसार, उपत्यकाका जनप्रतिनिधले फिर्ता लिन सल्लाह दिएपछि प्रधानमन्त्रीको कोर टिमले भने फिर्ता लिन नहुने तर्क गरेको छ। बरु यसलाई तत्कालका लागि स्थगत गर्नु पर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको छ।

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, असार ३, २०७६