लुक्ला विमानस्थल चार दिनदेखि ठप्प
सोलुखुम्बु, असार ३ : लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल चार दिनदेखि ठप्प रहेको छ। उडान नहुँदा सयौं पर्यटक अलपत्र परेका छन्।
केही दिनदेखि लुक्....

सोलुखुम्बु, असार ३ : लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल चार दिनदेखि ठप्प रहेको छ। उडान नहुँदा सयौं पर्यटक अलपत्र परेका छन्।
केही दिनदेखि लुक्लाको मौसम बदली भएको छ। मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले बताए।
बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेको छ। जसले गर्दा शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन्।
त्यस्तै, सोमबार पनि उडान भएन। सोमबार सात उडान तालिका थिए।
उडान प्रभावित हुँदा स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन्। खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो।
केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा छन्।
सल्लेरीदेखि खुम्बूपासाङल्हामु गाउँपालिका–१ खारिखोलासम्म यसै वर्ष सडक सञ्जाल पुगेको छ। तर, खरिखोलासम्म पुग्नका लागि माप्यदूधकोशीको वडा नं २ र माप्यदूधकोशीकै वडा नं १ जोड्ने दूधकोशी नदीमा पुल नहुँदा सिधा सवारी सम्पर्क टुटेको हो।
हिउँदमा ह्युमपाइप राखेर सिधा यातायात सञ्चालन भए पनि एक महिनायता पानीको बहाव बढेपछि सवारी आवागमनमा समस्या भएको हो। आगामी वर्ष खुम्बूपासाङल्हामु गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले जोड्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए।
सगरमाथासहित विभिन्न हिमालको आरोहण तथा अवलोकन गर्न आउने पर्यटकका लागि हवाईयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौँदेखिको समस्या उस्तै छ।











