इजरायल–प्यालेस्टाइन द्वन्द्व : बाइडेनले युद्धविरामको लागि गरे आह्वान

वासिङटन, जेठ ४ : इजरायल र प्यालेस्टाइनी आतंकवादी समुह हामासबिच भइरहेको द्वन्द्वको विषयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामको लागि आह्वान गरेका छन् ।
सोमबार इजरायल र प्यालेस्टाइनबिच भइरहेको द्वन्द्व अनत्य गर्न राष्ट्रपति बाइडेनले आह्वान गरेका हुन् ।
बाइडेनले गाजामा इजरायल र हामास समुहबीचको आठ दिनको हिंसा पछि युद्धविरामको लागि आफ्नो समर्थन व्यक्त गरेका छन्।
बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अमेरिकाले इजिप्ट र अन्य मुलुकसँग शत्रुता रोक्नको लागि छलफल गरिरहेको बताएका छन् । त्यस्तै, इजरायले पनि युद्धविराम गर्न हर प्रयास गर्नपर्ने उनले बताएका छन्।
‘दुबै नेताले गाजामा हमास र अन्य आतंकवादी समूह विरुद्ध इजरायलको सैन्य गतिविधिको विषयमा छलफल गरेका थिए,’ ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति बाइडेनले युद्धविरामका लागि समर्थन व्यक्त गर्नुका साथै इजिप्ट र अन्य मुलुकसँग अमेरिकी सहभागिताबारे छलफल गरेका छन् ।’
इजरायल र प्यालेस्टाइनमा भइरहेको द्वन्द्वमा परी गाजामा कम्तिमा दुई सय १२ जनाको मृत्यु भएको छ जसमा ६१ जना बालबालिका छन् र इजारयलमा दुई बालबालिका सहित १० जनाको मुत्यु भएको छ।












