Kathmandu Press

दुर्गमका संक्रमितको हेलिकप्टरमार्फत उद्धार गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत, जेठ ३ : पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहरले सिंगो मुलुकलाई आक्रान्त बनाएको छ। कोरोना नियन्त्रण, रोकथाम तथा प्रतिकार्यकाका लागि तीनथरी सरकार...
दुर्गमका संक्रमितको हेलिकप्टरमार्फत उद्धार गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत, जेठ ३ : पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहरले सिंगो मुलुकलाई आक्रान्त बनाएको छ। कोरोना नियन्त्रण, रोकथाम तथा प्रतिकार्यकाका लागि तीनथरी सरकार आ–आफ्नै तरिकाले लागिपरेका छन्।

यसैबीच कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय लिएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले डोल्पा, मुगु र हुम्लाका जटिल प्रकृतिका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको  हो।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइनेछ ।

संक्रमितको उद्धारका लागि निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्ने जनाइएको छ। सरकारले संक्रमित बिरामीको उद्धारका लागि १ करोड बजेट समेत छुट्याएको छ।

कर्णाली सरकारले कोरोना नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि १३ करोड ८० लाख रूपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिने निर्याय गरेको छ। विभिन्न स्वास्थ्य सामग्री खरिद तथा हेलिकप्टरबाट गरिने उद्धारका लागि सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम दिने निर्णय  गरिएको हो।

बैठकले अक्सिजन सिलिन्डर खरिद र व्यवस्थापन गर्न ६ करोड ३५ लाख, अक्सिजन कन्स्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिरलगायत औषधि खरिद गर्न १ करोड र हेलिकप्टरबाट उद्धारका लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको जनाइएको छ।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्