Kathmandu Press

किशोरीलाई यौनधन्दामा लगाउने तीन होटल सञ्चालकविरुद्ध मुद्दा दायर 

काठमाडौं,  असार २ : किशोरीलाई होटलमा काम दिने भन्दै यौनधन्दामा लगाउने तीन जना होटल सञ्चालकविरुद्ध मुद्दा दायर गरिएको छ।

झापाको बिर....

किशोरीलाई यौनधन्दामा लगाउने तीन होटल सञ्चालकविरुद्ध मुद्दा दायर 
सांकेतिक

काठमाडौं,  असार २ : किशोरीलाई होटलमा काम दिने भन्दै यौनधन्दामा लगाउने तीन जना होटल सञ्चालकविरुद्ध मुद्दा दायर गरिएको छ।

झापाको बिर्तामोड बजारमा होटेल सञ्चालन गरिरहेका प्रतीक्षा होटलका सञ्चालक अविशेख तामाङ, मोनशान्त होटलका किरण तामाङ र मनीषा होटलका नवीन विकबिरुद्ध सोमबार जिल्ला अदालत झापमा मुद्दा दर्ता गरिएको हो।

होटल सञ्चालकहरुले इलाम, ओखलढुंगा, उदयपुरका किशोरीलाई होटेलमा काम दिने भन्दै यौनधन्दा लगाएको पाइएको छ। किशोरीहरुलाई होटलमा गलैचा बुनाउने काम दिन्छु भन्दै फकाएर गाउँबाट ल्याएर यौनधन्दामा लगाएको पाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। 

यौन कार्यमा लगाउने र पारिश्रमिक पनि नदिएपछि किशोरीहरुले मुख खोलेका हुन्। एक जना ग्राहकसँग यौनसम्पर्क राखेवापत ५ सय र पुरै एक रातको ५ हजार दिएपनि किशोरीले भने पैसा नपाएको प्रहरी समक्ष बताएका छन्।

घर जाने बेलामा ५–६ हजार पैसा दिएर पठाउने भन्दा अरु पैसा नपाएको किशोरीले बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनबहादुर थापाले बताए। बन्धक बनाइएका पाँच जना किशोरीमध्ये ४ जनालाई बिहीबार र एक जनालाई आइतबार उद्दार गरिएको डिएसपी थापाले बताए।

पाँचै जना किशोरीलाई अहिले माइती नेपाल झापामा राखिएको छ। अहिले किशोरीका आफन्तहरुलाई खबर गर्ने काम भइरहेको र उनीहरुलाई घर पठाउने कि के गर्ने भन्ने विषयमा छलफल हुने माइती नेपाल झापाले जनाएको छ।

उद्धार गरिएका सबै किशोरी १६ वर्षदेखि १८ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्