सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने तीन सरकारी कर्मचारीसहित १६ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं, असार २ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको गुठिचौरस्थित भेडाबाख्रा फारमको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने तीन सरकारी कर्मचा....

काठमाडौं, असार २ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको गुठिचौरस्थित भेडाबाख्रा फारमको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने तीन सरकारी कर्मचारीसहित १६ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले मालपोत कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख गोबिन्दप्रसाद न्यौपानेसहित तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलमा कार्यरत नासु विजय शर्मा न्यौपाने, तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुना कुमार श्रेष्ठसहित १६ जना विरुद्ध सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
मालपोत कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख न्यौपानेलगायतका कर्मचारीले गुठीचौर भेंडाबाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ। यस्तै, सरकारी कर्मचारीलाई अनुचित प्रभावमा पारी गैरकानूनी तबरबाट जग्गा आ–आफ्नो नाममा दर्ता गर्ने हरिहर न्यौपाने, मुनिशचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धनप्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने र कविदत्त न्यौपानेविरुद्ध पनि आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आयोगले मालपोत कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख न्यौपाने, मालपोतका कर्मचारी विजय शर्मा न्यौपाने र भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख श्रेष्ठसँग जनही ४५ लाख रुपैयाँ बिगो माग गरेको छ।
जुम्लामालपोत कार्यालयका कर्मचारीले नापी कार्यालय र भेंडाबाख्रा फारमसँग मिलेर करिब ९३ हजार वर्ग मिटर क्षेत्रफल रहेको जग्गा बाँडफाँड गरी व्यक्तिको नाममा दर्ता गरेका थिए। जग्गा व्यक्तिको नाममा दर्ता गराएको भन्ने उजुरी परेपछि आयोगले प्राथमिकताका साथ अनुसन्धान गरेको थियो।











