शिक्षक महासंघद्वारा कोरोनाविरुद्ध खोप पाउनुपर्ने मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं, २ जेठ : नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोनाविरुद्धको अविलम्ब खोप व्यवस्था गर्न माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक...
काठमाडौं, जेठ २ : नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोनाविरुद्धको अविलम्ब खोप व्यवस्था गर्न माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै महासंघले जेठ ५ गते विगतमा आफूले राखेका मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्रमार्फत ध्यानाकर्षण गराउने जनााएको छ। उक्त खुलापत्र हरेक शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा सेयर गर्ने पनि बताइएको छ ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस्, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि गरियोस् भन्ने नारा पठाउने उल्लेख छ।
कार्यक्रम तालिकामा उल्लेख भएअनुसार जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघबीच आफ्ना माग र समसामयिक विषयमा अनलाइन अन्तक्र्रिया हुनेछ भने जेठ ११ गते हरेक शिक्षकले महासंघले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टीसमेत बाँधेर फोटो खिची आ–आफ्नो फेसबुक वालमा पोस्ट गर्नेछन्।
जेठ १३ गते शिक्षक तथा कर्मचारीले महासंघद्वारा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमक्ष पेस गरिेएको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाप्रति आफू रहेको निवार्चन क्षेत्रभित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने कार्यक्रम पनि तय गरिएको छ।
जेठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ।
हेर्नुहोस् कार्यक्रम तालिका












