Kathmandu Press

सरकार! विशेष औद्योगिक क्षेत्रमा उद्यमी किन गएनन्, सोचौँ : विनोद चौधरी

काठमाडौं, असार २ : नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सिमराको गार्मेन्ट जोन वा भैरहवाको विशेष औद्योगिक क्षेत्रमा उद्यमीले उद्योग खोल्न न....

सरकार! विशेष औद्योगिक क्षेत्रमा उद्यमी किन गएनन्, सोचौँ : विनोद चौधरी

काठमाडौं, असार २ : नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सिमराको गार्मेन्ट जोन वा भैरहवाको विशेष औद्योगिक क्षेत्रमा उद्यमीले उद्योग खोल्न नचाहनुका बारेमा सोच्न सरकारलाई आग्रह गरेका छन्। 

सोमबार बसेकाो प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,‘पूँजी भनेको कुरा पानी बगेजस्तै हो। वातावरण बन्यो भने त्यो जहाँ जानुपर्ने हो, त्यहाँ पुग्छ।’ उद्योग, वाणिज्य मन्त्रालयको बजेटमाथि छलफलमा भाग लिँदै उनले भने, ‘उद्योग मन्त्रालयका अगाडि दुइटा परिस्थिति उभिएको छ। एउटा सिमेण्ट उत्पादनमा आएको ठूलो परिवर्तनको उदाहरण छ। उद्योग मन्त्रालयले सिमेण्टका खानीसम्म बाटो पुर्‍यायो। बत्ती पुर्‍यायो। उद्यमी आफैँ पुगे।’

नेपालको कुल गार्हस्थ्य उत्पादनमा उत्पादन क्षेत्रको अंश घट्दो गएको बताउँदै भने,‘कुनै बेला १० प्रतिशत थियो, अहिले ५ प्रतिशतमा घटेको छ। यसका दुई–तीन कारण छन्। एउटा, उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखाभन्दा अलि माथि उठ्न सक्नुपर्‍यो। उद्योगको समस्याको समाधान दिन सक्ने हैसियत उद्योग मन्त्रालयले बनाउन सक्नुपर्‍यो। स्पेसल इकोनोमिक जोन, एक्सपोर्ट प्रोसेसिङ जोन, इन्डष्ट्रियल जोनहरूका कुरा गर्छौं। यस्ता क्षेत्र खुले पनि त्यहाँ उद्यमी जाँदैनन्। गएका पनि छैनन्।’

उनले भने, ‘गार्मेन्ट जोनको हालसालै कुरा आयो– त्यहाँ एउटा पनि दर्खास्त परेनन् भन्ने। भैरहवामा स्पेसल इकोनोमिक जोन खुल्यो तर त्यहाँ एउटा पनि उद्योग जान चाहेन। यो पनि त्यही सिमेन्टको कथासँग जोडिएको छ।’ चौधरीले भने, ‘यदि त्यहाँ उद्योग खोलेर अन्तर्राष्ट्रिय बजारमा आफूलाई प्रतिस्पर्धी बनाउन सक्ने स्थिति भएको भए कसैले बोलाइरहनुपर्दैनथ्यो। मन्त्रीज्यूको ढोकामा उद्यमीको लाइन लाग्थ्यो। के पुगेको छैन, त्यसतर्फ उद्योग मन्त्रालयले ध्यान देओस्। आवश्यक पूर्वाधारको व्यवस्था मिलाओस्।’

अहिले हाम्रो अर्थतन्त्रको चुनौती व्यापार घाटा रहेको बताउँदै भने, ‘हाम्रो सबैभन्दा ठूलो चुनौती हो। राष्ट्रको अर्थतन्त्र ९७ प्रतिशत आयात, ३ प्रतिशत निर्यातको स्थितिमा पुगेको छ अर्थतन्त्र। त्यसका दुई उपाय मात्र छन्– एउटा कि त आयात घटाउने वा निर्यात बढाउने। नेपाल विश्वबजारमा जुन कुरामा प्रतिस्पर्धी हुनसक्छ, ती फलफूल, फ्लोरिकल्चर होलान्। जडिबुटी होलान्। हस्तकला होलान्। जुटदेखि लिएर छालाका समाना कुनै बेला युरोपका बजारमा समेत संभाव्य थिए, ती किन लोप हुँदै गए? किन हामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन सकेनौँ?’

निर्यात अनुदान दिएकै भरमा निर्यात नबढ्ने बताउँदै भने, ‘बढ्ने भएको भए गत पाँच वर्षमा बढ्ने थियो, घट्दैनथ्यो। निर्यात झन घटेको छ। विश्वकै सबैभन्दा ठूला अर्थतन्त्र भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्नै अवस्थामा उभिएका यो देशमा उद्यमीहरूलाई केमा सघायो भने जुट्छन्, सरकार त्यसमा खरो उत्रनुपर्छ।’
 

प्रकाशित मिति: १६:१० बजे, सोमबार, असार २, २०७६