जामुने कोभिड अस्पतालमा चिकित्सक नियुक्त

म्याग्दी, जेठ १ : म्याग्दे गाउँपालिकाले जामुनेस्थित कोभिड अस्पतालमा चिकित्सक नियुक्ति गर्ने भएको छ। आज बसेको गाउँपालिकाको ११० औ कार्यपालिकाको बैठकले जामुने कोभिड अस्पतालका लागि तत्काल एक जना चिकित्सक नियुक्ति गर्ने निर्णय गरेको हो।
कोभिड सङ्क्रमण बढ्दै गएपछि अस्पताल सञ्चालनका लागि गाउँपालिकाले चिकित्सक परिचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार तत्कालको आवश्यकतालाई ध्यानमा राखेर तीनदिनभित्र दुई महिनाको लागि चिकित्सक करारमा नियुक्ति गर्ने निर्णय भएको छ।
कोभिड अस्पतालमा हाल पाँच श्यया रहेको र यसलाई बढाएर दश शय्या बनाउने तयारी गरिएको छ। कोभिड अस्पतालका लागि अक्सिजनको व्यवस्थापन भइसकेको र थप अक्सिजन जुटाउने प्रयास गरिएको उनले बताए।
कोभिड अस्पतालमा गाउँपालिकाले केही महिना पहिला चिकित्सक नियुक्ति गरेपनि उक्त चिकित्सकले छोडिदिएपछि अस्पताल चिकित्सक विहीन छ। गाउँपालिकाले कोभिड अस्पतालमा प्रयोगशाला समेत शुभारम्भ गरेको थियो।
गाउँपालिकाले घरमा बस्न नमिल्नेका लागि सात वटै वडामा आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ। आइसोलेशन केन्द्रमा बत्ती र पानीको व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने बाँकी स्वयंम व्यक्तिमार्फत् नै गराउने निर्णय भएको छ।
वडा नं १ स्थित महेन्द्र मावि गुणादी, कुल ज्योति आवि बाख्रे, विजय आधारभूत विद्यालय मानुङ, थानीदेवी प्रावि बच्र्याङमा आइसोलेशन बनाइनेछ। वडा नं २ स्थित उमादेवी प्रावि, ऋषिथुम आवि, राधा मावि, वडा नं ३ स्थित जनगणपति मावि, रविचन्द्र प्रावि, वडा नं ४ स्थित मिन मावि, गणेश मावि, जनप्रकाश आवि, वडा नं ५ स्थित जनशक्ति प्रावि, हिरामणि प्रावि, पञ्चकन्या प्रावि, बोटेनी सामुदायिक भवन, वडा नं ६ स्थित अकला आवि, अकला सामुदायिक सिकाई केन्द्र र वडा नं ७ स्थित मिलीजुली प्रावि, सरस्वती आवि, देवी दलित सामुदायिक भवनमा आइसोलेशन केन्द्र बनाइनेछ।
कोरोना जोखिम बढेपछि गाउँपालिकाले पिसिआर परीक्षणको दायरा थप वृद्धि गर्ने निर्णय गरेको गाउँपािलकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए। उनले निषेधाज्ञाको पालना गर्दै घरमै बस्न गाउँपालिकावासीलाई आग्रह गरे।
कार्यालय तीन दिन खुल्ने
निषेधाज्ञाको अवधिमा गाउँपालिकाले नागरिकको आवश्यकता र माग अनुसार हप्तामा तीन दिन दैनिक तीन घण्टामात्रै कार्यालय खोल्ने निर्णय गरेको छ। सीमित कर्मचारी आलोपालो गरी स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराइ सरकारी कारोवारको भुक्तानी तथा नागरिकको सङ्कलित निक्षेप रकम माग अनुसार भुक्तानी गर्ने निर्णय गरेको हो।











