लोकसेवाको ९ हजार पदका लागि एक लाख ६२ हजारभन्दा बढी दर्खास्त
काठमाडौं, असार २ : लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि झण्डै १८ गुणाभन्दा बढी दरखास्त परेका छन्।
आयोगले नौ हजार एक सय ६१ पदका लागि आवेदन ....
काठमाडौं, असार २ : लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि झण्डै १८ गुणाभन्दा बढी दरखास्त परेका छन्।
आयोगले नौ हजार एक सय ६१ पदका लागि आवेदन फारम माग गरेको छ। दरखास्त भर्ने म्याद भोलिसम्म रहेको छ। त्यसपछि असार १० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ।
आयोगले देशभरका पाँच सय १५ स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा आवेदन मागेको हो। आयोगका अनुसार, आजसम्म एक लाख ६२ हजार तीन सय ३३ दरखास्त परेका छन्। जसमा महिलातर्फ ३९ हजार ६ सय ४६ छन भने जनजातितर्फ १८ हजार ५१ छन्।
त्यस्तै, मधेशीतर्फ १० हजार १४, दलिततर्फ एक हजार दुई सय ३०, अपाङ्ग ७३ र पीछडिएको क्षेत्रफर्त ५० जनाले दरखास्त दिएका छन्। लोकसेवाको विज्ञापन समावेशी सिद्धान्त विपरित भएपछि विरोध हुँदै आएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको छ भने यससम्बन्धी सर्वोच्च अदालतमा मुद्दा परेको छ।
तैपनि दरखास्त दिनेको कमि देखिएको छैन। दरखास्त भर्नेको संख्या अत्यधिक छ। आज प्रति मिनेट एक सय जनाको दरले अनलाइनबाट फारम भरिरहेका छन्। जसले गर्दा आयोगको सर्भरमा चाप देखिएको सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए। धेरैले एकै पटक फारम भर्दा घरीघरी प्राविधिक समस्या पनि आइरहेको आयोगले जनाएको छ।











