Kathmandu Press

छोरी जन्मिँदा १००० को खाता, २० वर्षसम्म मासिक ५०० बचत गरिने

वीरेन्द्रनगर, असार २ : कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ क....

छोरी जन्मिँदा १००० को खाता, २० वर्षसम्म मासिक ५०० बचत गरिने
फाइल फोटो

वीरेन्द्रनगर, असार २ : कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना पाँच सय रुपैयाँका दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो। आइतबार सार्वजनिक  बजेटमा छोरीको सुरक्षाका लागि सात करोड विनियोजन गरिएको छ।

‘छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली एक हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना पाँच सयका दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गरिनेछ,’ बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने, ‘छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा गरेको छु। यस कार्यका लागि ७ करोड बजेट छुट्याएको छु।’

कर्णाली सरकारले जम्मा गर्ने रकम २० वर्षसम्म खातामा एक लाख २१ हजार हुनेछ। यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतमा क्षेत्रमा पनि प्राथमिकताका साथ बजेट छुट्याइएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गर्दै प्रोत्साहन स्वरुप वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ।

स्वास्थ्य संस्थामा आई बच्चा जन्माउने आमालाई पोषणबापत दुई हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। प्रदेश सरकारले छाउपडी प्रथा, बालविवाह, अनमेल विवाह, घरेलु हिंसा जस्ता सामाजिक विकृति अन्त्य गर्दै छोरीलाई गर्भदेखि नै समान रुपले हुर्काउन र पढाउन छोरीबुहारी मूलप्रवाहीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

त्यसैगरी राउटे, बादी लगायतका लोपोन्मुख तथा अल्पसङ्ख्यक सिमान्तकृत वर्ग-समुदायको संरक्षणका लागि आयमूलक कार्यक्रमको व्यवस्था गरिने मन्त्री ज्वालाले बताए। आर्थिक वर्ष २०७६/७७ का लागि कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ। कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्याइएको छ।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, असार २, २०७६