हिमपातले उत्तरी गोरखाको जनजीवन कष्टकर
गोरखा, माघ १२- गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्था....
गोरखा, माघ १२- गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो ।
हिमपातका कारण सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लाप्राकलगायतका क्षेत्रका बासिन्दा घर बाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासीले बताएका छन् । 'मौसममा सुधार भएसँगै बिहीबार केही कम भएको थियो,' धार्चे गाउँपालिका–४ लाप्राकका भीमराज गुरुङले भने, 'शुक्रबार बेलुकीदेखि उस्तै भएको छ ।' अत्यधिक हिमपात भएपछि घरबाट बाहिर निस्कनसमेत समस्या भएको उनको भनाइ छ ।
हिउँले मानिस हिँड्ने पैदल बाटोसमेत ढाकिएपछि ओहोरदोहोर गर्नसमेत समस्या भएको गुरुङले जानकारी दिए । हिउँले लाप्राकको गुप्सीपाखा क्षेत्र पनि पूरै सेताम्मे बनेको उनले बताए। भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएन) निर्माण गर्न गरिरहेको एकीकृत नमूना बस्ती निर्माणको कामसमेत हिमपातका कारण प्रभावित भएकोे छ । त्यस्तै हिउँले जंगलमा रहेका बुट्यानसमेत ढाकिएको गुरुङले जानकारी दिए।
अहिले करीब तीन फिटसम्म जमेको हिउँका कारण जनजीवन कष्टकर बनेको लाप्राककी आशामाया गुरुङले जानकारी दिए । 'चिसोले गाह्रो भएको छ, घरभित्रै आगो तापेर बसेका छौं,' उनले भने, 'चिसोबाट बालबच्चा र वृद्धवृद्धा बढी समस्या भएको छ ।' हिउँका कारण घरपालुवा जनावरलाई पनि घाँस खुवाउन गाह्रो भएको गुरुङको भनाइ छ ।
हिउँले चिसो भए पनि हिउँ परेपछि स्थानीयवासी भने खुशी भएका उनले बताए। हिउँ परेपछि जमीन मलिलो हुने र खेतीपाती राम्रो हुनेहुँदा किसान खुशी भएको गुरुङले जानकारी दिए । अहिले उत्तरी गोरखाको विभिन्न क्षेत्र हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ ।