Kathmandu Press

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

महोत्तरी, वैशाख ३१ : पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ।वैशाख २२...
महोत्तरीमा १० दिन निषेधाज्ञा थप

महोत्तरी, वैशाख ३१ : पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ।

वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा भीडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ। यस अवधिभरि सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र  घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ।

अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शवबाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ।

जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ सङ्क्रमण र मानवीय क्षति बढेको हुँदा निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिबास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ । जारी वैशाख १० गतेयता यसपालि सङ्क्रमण दोहोरिएर देखिन थालेको हो। 

जिल्लामा यही वैशाख महिनाभित्रै हालसम्म यो व्याधीले १३ जनाको ज्यान लिइसकेको छ । त्यसैगरी यसै अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक भट्टराईले जानकारी दिए। 

यस अवधिमा ४० जनाले कोभिड–१९ सङ्क्रमणलाई परास्त गरेर ठिक भएका छन् । यसअघि विसं २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो । त्यसैगरी सो अवधिमा दुई हजार १४१ सङ्क्रमण पुष्टि भएका थिए । तीमध्ये ९०० भन्दा बढीमा सक्रिय सङ्क्रमण देखिएको थियो।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन् । निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ। पूर्वजानकारीबिना कुनै जरुरी काम देखाएर हिँडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रजिअ भट्टराईले आफ्नो बताए।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सिफारिशमा जारी गरिएको निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ । जिल्ला प्रशासनले परम्पराअनुसारका चाडबाड घरपरिवारभित्र मनाउन पनि अपिल गरेको छ।

प्रकाशित मिति: ०७:५९ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्