पजिटिभ देखिए ‘होमआइसोलेट’

मकवानपुर, वैशाख ३० : थाहा नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। पजिटिभ देखिए स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही निर्देशन सहित घर पठाउँछ। स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्थामा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ।
बुधबार थाहा–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो नघटेका कारण स्वास्थ्य केन्द्र गए। स्वास्थ्य केन्द्रमा उनीसहित अन्य १० बिरामी पनि पुगेका थिए। सबैको एन्टिजेन परीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजिटिभ देखियो। अहिले बिष्ट होम आइसोलेशनमा छन्।
नगरपालिकामा यही वैशाख १० गतेदेखि हालसम्म १६३ जनामा कोरोना सङ्क्रमण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ। डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको सङ्क्रमितले बताएका छन्। ती सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको, आठ जना निको भएको, छ जनालाई थप उपचारको लागि हेटौँडा पठाएको र बाँकी सबै घर आइसोलेशनमा रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए। उनका अनुसार नगरपालिकाले व्यवस्था गरेको सामुदायिक आइसोलेशनमा भने एक जनालाई पनि पठाइएको छैन।
गत वर्षदेखि क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थाहा–६ स्थित सामुदायिक भवनमा नगरपालिकाले आइसोलेशन कक्ष स्थापना गरेको छ। बीस श्ययाको उक्त आइसोलेशन तयार भइसकेको र सङ्क्रमितको उपचारको लागि विशेषज्ञसहितको स्वास्थ्य टोली पनि तयार रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिए।
आफूमा कोरोना पोजिटिभ देखिएपछि अधिकांश बिरामीहरु घरमै बस्न रुचाउने डाक्टरहरुको भनाइ रहेको छ। घर आइसोलेशनमा बस्दा परिवारसँगै बसेको अनुभूति हुने र आत्मबलको विकास हुने भएकोले सामुदायिक आइसोलेशनभन्दा घर आइसोलेशन नै रोज्ने गरेको सङ्क्रमितहरु बताउँछन्। कसैलाई सास फेर्न गाह्रो भयो वा थप केही जटिलताहरु देखियो भने स्वास्थ्यकर्मीलाई तुरुन्त घर–घरमा पठाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
नगरको १, २, ३, ४ र ६ वडामा सङ्क्रमित रहेको र उनीहरु घर आइसोलेसनमा बस्दा समुदायमा जोखिम बढ्न सक्नेमा चिन्ता व्यक्त गर्न थालिएको छ। डाक्टरले बिरामीको अवस्थाको आधारमा घर आइसोलेशनमा बस्न सिफारिस गरे पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार रहे–नरहेकोबारे एकीन हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन्। सामान्य तथा कोरानाका बिरामीहरुलाई घरमा पठाउनु अहिलेको बाध्यता रहेको कोरोना रोकथाम तथा नियन्त्रण निर्देशन समिति थाहा नगरका सदस्य सुरेन्द्रमान प्रधानले बताए। ‘नगरपालिकाले तयार पारेको आइसोलशनमा जम्मा २० श्ययाको क्षमता छ, नगरमा डेढ सय बिरामी नाघिसक्यो, कसलाई छानेर सामुदायिक आइसोलेशनमा पठाउनु ?’ उनले भने।
नगरमा अहिले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएमा मात्र परीक्षण गर्ने गरिएको छ। सङ्क्रमण देखिएका व्यक्तिको परिवारका सदस्यलाई पाँच दिनपछि ज्वरो आएमा परीक्षण गर्ने गरिएको छ। ‘व्यक्तिहरु स्वास्थ्य केन्द्रमा पुग्दा यो अवस्था छ भने स्वास्थ्य केन्द्र समुदायमा पुगेर परीक्षण गर्ने हो भने अवस्था भयावह देखिन सक्छ’, उनले भने । आवश्यक उपकरणको अभावमा समुदायस्तरमा कोरोनाको परीक्षण गर्न नसकिएको नगरपालिकाले जनाएको छ। उद्योग वाणिज्य संघसँग समन्वय गरेर अर्को आइसोलेशन कक्ष स्थापनाको तयारी गरिरहेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । रासस











