ओली सरकारको दिनगन्ती सुरु भइसक्योः सिंह
काठमाडौं, असार १ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीलाई कुदृष्टि लाउनेहरुको कहिल्यै भलो नभएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारको द....

काठमाडौं, असार १ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीलाई कुदृष्टि लाउनेहरुको कहिल्यै भलो नभएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको बताएका छन्।
गुठी विधेयकविरुद्धमा आइतबार कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले पशुपतिनाथ चलाउन खोज्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्दा डा.बाबुराम भट्टराईको हालत के भयो? भन्दै बुझ्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिए। उनले सामाजिक सहिष्णुतालाई विथोल्नका लागि गुठीसम्बन्धि विधेयक ल्याएको आरोप पनि लगाए।
सिंहले संविधानको मर्म र भावना विपरितको गुठी विधेयकविरुद्ध संसदमा कुरा उठाइरहेको कांग्रेस आजबाट सडकमा पनि विरोधमा उत्रिएको बताए।
‘गुठीमा जसले कुदृष्टि राख्छ त्यसको कहिल्यै भलाई भएको छैन। ओली सरकारको पनि दिनगन्ती शुरु भइसकेको छ,’उनले भने,‘यसको राम्रो छैन भविष्य। यो सरकारलाई आफूले गरेको गल्ती सच्याउने मौका दिनुपर्छ। यदि सच्चिएन भने जनताको मतबाट आएको सरकार जनताले नै त्यसको टुँगो लगाउँछन्।’
काठमाडौंको जनतालाई सामन्तीको संज्ञा दिइएकोप्रति आपत्ति जनाउँदै सिंहले काठमाडौंवासीले विकसित गरेको संस्कृति, परम्पराले नै नेपाललाई विश्वमा चिनाएको स्मरण गराए।
विरोधसभामा कांग्रेस काठमाडौंबाट निर्वातिच सांसदहरु भिमसेनदास प्रधान, गगन थापा, राजेन्द्र केसी, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नेता नविन्द्रराज जोशी पनि सहभागी थिए।











