देव गुरुङले भने– नेपाललाई द्वन्द्वमा फसाएर विदेशी सेना प्रवेश गराउने खेल भइरहेको छ
काठमाडौं, असार १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपाललाई फेरि द्वन्द्वमा फसाएर विदेशी सेना प्रवे....
काठमाडौं, असार १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपाललाई फेरि द्वन्द्वमा फसाएर विदेशी सेना प्रवेश गराउने प्रयास भइरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले द्वन्द्वकालीन मुद्दाको हल हुन नदिने र फेरि नेपाललाई द्वन्द्वमा फसाएर कसरी विदेशी सेना भित्र्याउन सकिन्छ भन्ने प्रयास भइरहेको बताएका हुन्। उनले द्वन्द्वकालीन मुद्दा, शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिन पश्चिमा राष्ट्रहरु लागेको पनि बताए।
‘द्वन्द्वकालीन मुद्दा हल भएका छैनन्। शान्तिप्रक्रियाका बाँकी काम पूरा भएका छैनन्। यस्तो अवस्थामा नेपालको राजनीतिक कोर्स कता जान्छ भन्ने चासोको विषय छ,’ गुरुङले भने,‘टिआरसीले पूर्णता पाउन सकेको छैन। कानून पनि संशोधन कुन सकेको छैन। नेपालभित्रको यस्तो परिस्थिति उत्पन्न भइरहँदा बाह्य शक्ति केन्द्र खासगरी पश्चिमा राष्ट्रहरुले समस्या हल हुन नदिएर नेपाललाई फेरि द्वन्द्वमा फसाएर विदेशी सेना नेपाल प्रवेश गराउने प्रयास हुँदैछ।’
गुरुङले नेपालमा विदेशी सेना भित्राएर छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने विश्व राजनीति केन्द्रित भएको बताए। उनले विदेशीहरु यही कुराका लागि शान्ति प्रक्रियाका मुद्दाहरु समाधान गर्न नदिएर अड्काइएको दाबी गरे।
‘अहिले द्वन्द्वकालमा मुद्दा लागेकाहरुलाई पूर्जी अहिले दिने काम किन भइरहेको छ। सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा लागेकालाई किन अहिले नेपाली सेनामा हुँदाको मुद्दा देखाएर जन्मकैदको फैसला सुनाइराखिएको छ?’ उनले प्रश्न गरे।
उनले केही दिनअघि संयुक्त राष्ट्रसंघसहित अन्य ९ देशका राजदूतले जारी गरेको विज्ञप्तिे द्वन्द्वकालका मुद्दाहरु समाधान हुन नदिने निष्कर्षसहित आएको पनि बताए।
गुरुङले भने,‘संयुक्त राष्ट्रसंघ र ९ देशका राजदूतहरुले किन संयुक्त विज्ञप्ति जारी गरे। पटक–पटक किन नेपालको द्वन्द्वकालका मुद्दामात्र उनीहरुको प्राथमिकतामा पर्ने गरेको छ। यसले विदेशीमात्रै नभई स्वदेशी शक्ति पनि द्वन्द्वकालका मुद्दा चर्काउन लागेको देखिन्छ।’






