सातै प्रदेशमा ‘कोभिड विशेष नर्स समूह’
काठमाडौं, वैशाख २७ : नागरिकलाई सही सूचना र कोरोनासम्बन्धि आवश्यक सुझाव दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् । कोरोना भाइरस...
काठमाडौं, वैशाख २७ : नागरिकलाई सही सूचना र कोरोनासम्बन्धि आवश्यक सुझाव दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् । कोरोना भाइरस महामारी र नियन्त्रणका लागि नर्सहरुले स्वतःस्फूर्त ‘कोभिड विशेष नर्स समूह’ बनाएर निःशुल्क परामर्श दिन सुरु गरेका हुन् ।
सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका सूचनाहरु कुन सही र गलत हुन् भनेर छुट्याउन गाह्रो भइरहेको र अनावश्यक औषधिको प्रयोग अत्यधिक मात्रामा बढेका कारण आम नागरिकलाई परामर्श दिन यस्तो समूह बनाइएको हो । कोरोना सरु भएदेखि नै नर्सहरुले उचित परामर्श दिने काम गर्दै आएपनि अहिले समूह नै बनाएर काम सुरु गरेका हुन् ।
कतिपय बिरामी कोभिड सङ्क्रमण भएपछि स्वास्थ्य सामान्य हुँदा पनि हतास मनस्थितिमा अस्पताल पुग्दा अस्पतालले धान्न नसक्ने स्थिति आएको र अस्पताल जानुपर्ने गम्भीर बिरामी सूचनाको अभावले घरमै बस्दा ज्यान जोखिममा परिरहेको भन्दै ‘कोभिड विरुद्ध नर्स समूह’ बनाएर परामर्श दिन थालिएको ‘कोभिड विशेष नर्स समूह’ का राष्ट्रिय संयोजक दुर्गा सापकोटाले जानकारी दिए । यो समूहले देशका सातै प्रदेशमा आजदेखि कोरोना सङ्क्रमणका विषयमा उचित परामर्श दिन सुरु गरेको संयोजक सापकोटाले बताए ।
कोभिड विशेष नर्सले कोभिडबाट संक्रमित नहुन के गर्ने, यदि संक्रमण भयो भने कसरी व्यवस्थापन गर्ने, घरमा आइसोलेशन बस्दा परिवारका अरु सदस्यलाई कसरी जोगाउने, कस्तो खाना खानेm आफ्नो मानसिक स्वास्थ्य कसरी सन्तुतिल राख्ने, कुन बेला अस्पताल जानेलगायतका विषयमा नागरिकलाई निःशुल्क परामर्श दिनेछ ।
कोभिड विशेष नर्सले कोभिडको सुदूरपश्चिम प्रदेशको संयोजकमा किरण चन्द र परामर्शदाता मीना चन्द, कर्णाली प्रदेशको संयोजकमा प्रतिमा खत्री र परामर्शदाता मोना दाहाल, वाग्मती प्रदेशमा संयोजक अमृता बराल र परामर्शदाता ममता केसी छन्।
त्यस्तै प्रदेश नं १ को कोभिडविरुद्ध नर्सको संयोजक शिक्षा कार्की, परामर्शदाता विद्या बस्नेत, गण्डकी प्रदेशको संयोजक नवीना कोइराला र परामर्शदाता रीता गौतम तथा प्रदेश २ को संयोजकमा रीता गौतम र परामर्शदातामा सिर्जना चौधरी छिन्। यस्तै, लुम्बिनी प्रदेशको संयोजकमा रिचा घिमिरे र कोभिड विशेष नर्स सुमित्रा ढकाल रहेकी छन्।
‘कोभिड विशेष नर्स समूह’ को फेसबुक पेजमा परामर्शदाताको नाम, नम्बर तथा अन्य सूचनाहरु समेत राखिएको छ ।











