सातवटै प्रदेश सरकारले २ खर्ब ४५ अर्बको बजेट ल्याउँदै
काठमाडौं, असार १ : सातवटै प्रदेश सरकारले दोस्रो बजेट ल्याउँदै छन्।
प्रदेशसभा बैठकमा आइतबार अपरान्ह ४ बजे सातै प्रदेशका अर्थमन्त्रीहरुल....

काठमाडौं, असार १ : सातवटै प्रदेश सरकारले दोस्रो बजेट ल्याउँदै छन्।
प्रदेशसभा बैठकमा आइतबार अपरान्ह ४ बजे सातै प्रदेशका अर्थमन्त्रीहरुले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट पेश गर्दै छन्। प्रदेश सरकारहरुले झण्डै २ खर्ब ४५ अर्ब हाराहारीको बजेट विनियोजन गर्दैछन्।
सातै प्रदेश सरकारले चालु आर्थिक वर्षमा २२ प्रतिशतमात्रै खर्च गर्न सकेका छन्। यही कार्यशैलीले आगामी आर्थिक वर्षमा पनि खर्च गर्न सक्ने अवस्थामा प्रदेश सरकार छैनन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट पेश गर्न लागेका हुन्।
प्रदेश १ सरकारले अनुमानित ३६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षमा प्रदेश १ ले ३५ अर्ब ९३ करोड रुपैयाँको बजेट पेश गरेको थियो।
यस्तै, प्रदेश २ ले पनि आज अनुमानित ३२ अर्ब ३४ करोड रुपैयाँको बजेट पेश गर्दैछ। चालु आर्थिक वर्षमा प्रदेश २ ले २९ अर्बको बजेट ल्याएको थियो। प्रदेश सरकारमध्ये सबैभन्दा धेरै भने ५० अर्बको बजेट प्रदेश ३ ले ल्याउने भएको छ।
चालु आर्थिक वर्षमा ३५ अर्ब ६१ करोडको बजेट पेश गरेको प्रदेश ३ ले आधा खर्बको बजेट ल्याउन लागेको हो। त्यस्तै, गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा गण्डकीले २४ अर्बको बजेट ल्याएको थियो।
प्रदेश ५ ले झण्डै २५ प्रतिशतले बजेट वृद्धि गर्ने गरी ३५ अर्ब हाराहारीको ल्याउने भएको छ। प्रदेश नम्बर ५ ले चालु वर्षमा २८ अर्बको बजेट ल्याएको थियो। कर्णाली प्रदेशले बजेटको आकार भने ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। कर्णालीले केन्द्रबाट ऋण नलिने गरी बजेट ल्याउन लागेको छ।
सुदूरपश्चिम प्रदेशले सबैभन्दा सानो बजेट ल्याउने तयारी गरेको छ । चालु वर्षमा २५ अर्ब रुपैंयाको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले अहिले करिब ४ अर्ब रुपैयाँले बजेटको आकार वृद्धि गरेर २९ अर्बको बजेट ल्याउने भएको छ।











