नेपाल-खनाल समूहलाई अलमल्याउने ओलीको अर्को अस्त्र- ट्विटरबाट छलफलका लागि आह्वान
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीको नेपाल-खनाल समूहलाई आफ्नो ट्विटर ह्यान्डलमार्फत छलफलका लागि आह्वान गरेका छन्।
काठमाडौं, वैशाख २७ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीको नेपाल-खनाल समूहलाई आफ्नो ट्विटर ह्यान्डलमार्फत छलफलका लागि आह्वान गरेका छन्। सामूहिक राजिनामाको निर्णयमा पुगेका नेपाल-खनाल समूहका सांसदलाई अलमल्याउने उद्देश्यले ओलीको ट्विट आएको छ।
‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ,’ केपीशर्माओली नामक ट्विर ह्यान्डलमा लेखिएको छ, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौँ।’











-1790332718.jpg)