वेड अभावमा अस्पताल बाहिरै संक्रमितको उपचार
‘अहिले अस्पतालमा विरामीको चाप बढिरहेको छ। वेडको अभाव भएको छ। दैनिक १५÷२० जना कोरोनाका बिरामी वेड पाउने आसमा बाहिर कुरेर बसेका हुन्छन् । वेड खाली नहुन्जेल उनीहरुलाई बाहिरै राखेर उपचार गर्ने र आवश्यकता अनुसार अक्सिजन दिइरहेका छौँ।’काठमाडौं, वैशाख २७ : कोरोना संक्रमण बढ्दै गएसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा वेड अभाव हुन थालेको छ। वेड अभावकै कारण कोरोनाका गम्भीर बिरामीले समेत अस्पताल बाहिरै अक्सिजन लगाएर बस्न बाध्य भएका छन्।
कोरोना बिरामीको चाप अत्यधिक भएकाले अस्पताल भवनको प्रांगणमा राखेर आवश्यकता अनुसार अक्सिजन दिइरहेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले जानकारी दिए।
‘अहिले अस्पतालमा विरामीको चाप बढिरहेको छ। वेडको अभाव भएको छ। दैनिक १५÷२० जना कोरोनाका बिरामी वेड पाउने आसमा बाहिर कुरेर बसेका हुन्छन्,’ उनले काठमाडौं प्रेससँग भने, ‘वेड खाली नहुन्जेल उनीहरुलाई बाहिरै राखेर उपचार गर्ने र आवश्यकता अनुसार अक्सिजन दिइरहेका छौँ।’
अहिले टेकु अस्पतालमा १ सय जना कोरोनाका बिरामीहरु उपचाररत छन्। जसमध्ये अइसियुमा २४, कोभिड वार्डमा ३२, एमर्जेन्सीमा २५ र कोभिड आइसोलेसनमा ८ जना छन् । डा. बास्तोलाका अनुसार ६ जनालाई भेन्टिलेटरको आवश्यक रहे पनि भेन्टिलेटर अभावका कारण उनीहरुलाई भेन्टिलेटरमा राख्न सकिएको छैन ।
डा. बास्तोला भन्छन्, ‘हिजो मात्र हामीले भण्डै २० जनाको लागि अस्पतालमा थप व्यवस्था मिलाएका थियौँ। आज पनि मानिसहरु आउने क्रम जारी छ। बिहानै लगभग ८ जना आइसक्नु भएको छ । व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ । बिरामीहरू ढोका नजिकै कुर्सी र भुइँमा अक्सिजन लिएर बसेका हुन्छन्। हामीले केही गर्न सकेको छैनौँ।’
अन्य अस्पतालहरुमा पनि कोरोनाका बिरामीहरुको चाप धेरै रहेको हुँदा उनीहरुलाई पठाउन नसकिएकै कारण पनि टेकु अस्पतालको भवन बाहिरै राखेर भएपनि उपचार गरिरहेको उनले बताए।
यस्तै अहिले बिरामी व्यवस्थापनका लागि ‘टर्न ओभर’ अर्थात बिरामीलाई चाँडै डिस्चार्ज गरेर अर्को बिरामीलाई राख्ने गरिरहेको र थप व्यवस्थापनका लागि छलफल भइरहेको उनले बताए ।