द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर, निषेधाज्ञापछि खुला गरिने

काठमाडौं, वैशाख २७ : पर्वतमा एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको निर्माण गरेको छ।
काली गण्डकी खोँच माथिको स्काइ चियरमा बसेर कुश्मा बजार, धौलागिरि हिमाल, बन्जी र स्विङ गरेको लगायतका मनोरम दृश्य हेर्न पाइनेछ। पर्यटकले स्काइ चियरमा बसेर कफी पिउन, खाजा खान लगायत फोटो भिडियो खिचाउन सक्नेछन् ।
कोरोना कहरका कारण गरिएको निषेधाज्ञा पश्चात् सर्वसाधारणका लागि स्काइ चियर खुला गरिने बताइएको छ। एक पटकमा दुई जना बस्न मिल्ने स्काइ चियर नदीबाट २ सय ५० मिटर अग्लो भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। रिपोर्ट परिसरमै हाइ रोप स्टेसनको निर्माण धमाधम भइरहेको छ।
स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कार्कीले बताए। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो हुने बताइएको छ। साथै रिसोर्टमै भगवान् पाइलाको निर्माण भइरहेको उनले बताए । जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन्।
पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाइमा रहने बताइएको छ। पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ।










-1779700642-1779702715.jpg)

