मन्दिर र मूर्तिको नाममा बोल्ने तर गरिबका नाममा किन नबोल्ने?
काठमाडौं, असार १ : नेकपा सचेतक शान्ता चौधरीले मन्दिर र मूर्तिका नाममा गुठी विधेयकको विरोध गर्नेलाई गरिब किसानको बारेमा पनि बोल्न आग्रह गरेकी छिन्....
काठमाडौं, असार १ : नेकपा सचेतक शान्ता चौधरीले मन्दिर र मूर्तिका नाममा गुठी विधेयकको विरोध गर्नेलाई गरिब किसानको बारेमा पनि बोल्न आग्रह गरेकी छिन्।
गुठी विधेयकबारे आइतबार प्रतिनितिसभा बैठकमा बोल्दै उनले स्वर्गद्वारी मन्दिर जोगाउने गरिब किसानबारे ध्यान दिन प्रतिपक्षलाई पनि आग्रह गरेकी हुन्। चौधरीले भनिन्, ‘स्वर्गद्वारी गुठीको १२ सय बिघा जग्गा छ । त्यो १६ सय घरधुरीले जोतभोग गरिरहेका छन् । आज स्वर्गद्वारी गुठीलाई संरक्षण गर्ने मोही किसानको अवस्था यति नाजुग छ, हामीले त्यतातिर ध्यान दिइरहेका छैनौँ ।’
मन्दिर जोगाउन हातमा ठेला उठाउने र खुल्साएर कुत बुझाएर मन्दिरको संरक्षण गर्ने गरिब किसानको बारेमा बोल्न आग्रह गर्दै भनिन्, ‘एउटा मन्दिरको नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ । यहाँ गुठीयारको नाममा बोलिन्छ तर ती गरिब किसानहरूका नाममा बोल्ने कि नबोल्ने ?’
काठमाडौं उपत्यकाभित्र र बाहिरको गुठीको समस्या एकै प्रकृतिको नभएको बताउँदै उनले भनिन्, ‘धर्म हाम्रो आस्था हो । संस्कृति पहिचान हो तर मान्छेलाई रुवाएर हास्ने भगवान कहाँ हुन्छ र ? यही प्रश्नको जवाफ खोजिरहेको छु ।’
गुठी विधेयकबारे जसरी नकारात्मक ढंगले आएकोमा आफू आश्चर्यमा परेको बताउँदै भनिन्, ‘चर्को गरी बोलेको मात्र भावनात्मक हुने, भोकभोकै हलो जोत्ने गरिब किसानको भावना हुँदैन । शिक्षित वर्गको हितमा मात्र बोलिन्छ तर गरिब सर्वहारा किसानका बारेमा बोल्नै नहुने ? उनीहरूका लागि कुनै व्यवस्था गर्नै नहुने भन्ने छ ? गरिबका लागि बोल्न हुँदैन भने गणतन्त्र किन चाहियो ?’
विधेयकलाइ नकारात्मक ढंगले मात्र प्रचार नगर्न आग्रह गर्दै भनिन्, ‘गरिबहरूका आँशु देखेर प्रतिपक्षलाई दया लाग्दैन ? ०५८ सालमा पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले गुठी ऐन संंशोधन विधेयक संसद्मा ल्याएको भए पनि त्यसलाई अघि बढाउन नपाउँदै सरकार संसद् विघटन भएको दाबी गरिन् ।






